NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अविरल वर्षाले झापाका १६० घर उच्च जोखिममा

बनियानी । सोमबार रातिदेखि आएको अविरल वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ ।

कमल गाउँपालिका–५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

त्यस्तै कमल–६ को खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ । सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङको दुई वटा सुगुर फार्म बगाएको छ ।

वडा नं ६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँधसमेत भत्काएको छ ।

यता रतुवा खोलाले गौरादह–५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् भने गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् ।

गौरादह–६ कै दामुनाखोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् । वर्षाका कारण शिवसताक्षी नपा–४ सन्थाल बस्तीमा कमल–बनियानी खोलाको पानी पसेको छ ।

खोला बस्ती पस्दा ३० घर डुबानमा परेको छ । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।