NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रदेश १ : मन्त्रालयगत छलफल सकियो, कसले के भने ?

मोरङ । प्रदेश १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकको मन्त्रालयअन्तर्गतको छलफल समाप्त भएको छ ।

बैठकमा पर्यटन तथा संस्कृति मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय र उद्योग श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य आशारत्न जवेगुले पाँचथरका पर्यटन स्थलको विकासबारे रातो किताबमा उल्लेख नभएको भन्दै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले सुनसरीको मोरङ औद्योगिक करिडोरका उद्यमीको माग सम्बोधन गर्न सदनको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य ज्योति सुब्बाले दुहवी–इनरुवा सडक चार लेनको निर्माण गरी त्यस क्षेत्रमा उद्यमीलाई आकर्षित गर्नुपर्ने बताए ।

यस्तै प्रदेशसभा सदस्य नवोदिताकुमारी चौधरीले बजेट विनियोजनमा महिला सदस्यलाई अपहेलना गरेको गुनासो गरे । प्रदेशसभा सदस्य पूर्णप्रसाद राई याम्फुले सङ्खुवासभामा तामा र ढुङ्गाखानीको आवश्यक अन्वेषण र उत्खनन् गर्न सुझाव दिए ।

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले प्रदेशका पर्यटन क्षेत्रका महत्वपूर्ण गन्तव्य सूची तयार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सुझाव दिए । प्रदेशसभा सदस्य वसन्तकुमार बानियाँले मुलुकको दिगो एवं ठोस विकासको आधार पर्यटन भएकाले यसमा आवश्यक योजना र बजेट नआएको चर्चा गरे । प्रदेशसभा सदस्यहरू रामबहादुर मगर, लछुमन तिवारी, लीला सुब्बा र सर्वध्वज साँवाले विभिन्न विषयमा सम्बन्धित मन्त्री तथा सदनको ध्यानाकर्षण गराए ।

यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरू विमल कार्की, राजकुमार ओझा, राधा थापा, शान्ता पौडेल र सूयर्माराज राईले वर्षाका कारण डुबानमा परेका जनताको उद्धार र राहत तथा सुकुम्बासीलाई जग्गा धनी पूर्जा वितरण र प्रदेश नामकरण गर्न सदनको ध्यानाकर्षण गराएका थिए ।

उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको अर्को बैठक असार १५ गते बिहान ११ः३० बजे बस्ने सदनलाई जानकारी गराइन् ।