NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मनमैजुमा झुण्डिएको अवस्थामा मजदुर मृत फेला

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा झुण्डिएको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।

तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित शुभकामना चोकबाट भित्र रूखमा झुण्डिएको अवस्थामा बिहीबार बिहान सञ्जीव मगर मृत फेला परेका हुन् ।

प्रहरी वृत्त बालाजुका डिएसपी, गौतम मिश्रले अन्दाजी २५ वर्षीय मगरको शव झुण्डिएको अवस्थामा फेला परेको नेपालवाचलाई जानकारी दिए ।

मृतक मगर त्यही क्षेत्रमा रङ लगाउने मजदुर हुन् । उनको स्थायी ठेगानाबारे भने खुलिनसकेको डिएसपी मिश्रले बताए ।

प्रहरीले शव नियन्त्रणमा लिएर  पोस्ट्मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।

डिएसपी गौतमले पोस्ट्मार्टम रिपोर्टपछि मात्रै घटनाबारे बताउन सकिने बताए ।

‘झुण्डिएको अवस्था भेटिएको शव नियन्त्रणमा लिएर हामीले पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं । त्यसको रिपोर्ट आएपछि मात्रै आत्महत्या या हत्या के हो बताउन सक्छौं,’ उनले भने ।

तारकेश्वर नगरपालिकाभित्र एक साताको बीचमा भएको यो दोस्रो घटना हो । यसअघि गत शनिबार तारकेश्वर नगरपालिका–११ नेपालटारमा गायिक दिलमाया सुनार आफ्नै डेरामा मृत फेला परेकी थिइन् । हत्या लगत्तै एक पुरुष पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेकोमा पोस्ट्मार्टम रिपोर्टमा उनले आत्महत्या गरेको पुष्टि भएको थियो ।