NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मनसुन सक्रिय भएपछि विपद् सतर्कता अपनाउदै जुम्लाका स्थानीय तह

मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् ।

विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ । प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटोछरितो राहत उद्धार र पुनःस्थापनका लागि स्थानीयतह विपद् पूर्वतयारीमा लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताए ।

जिल्लाका आठवटै पालिकाले आगामी आवको बजेटमा समेत विपद् व्यवस्थापनका लागि न्यूनतम रु १५ लाखदेखि रु ५० लाखसम्म बजेट विनियोजन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा त्यहाँका स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिकाबीच प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धता गरेका छन् ।

पूर्वसूचना, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनःस्थापनका लागि अन्तरपालिकाबीच हातेमालो गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।

चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले विपद् पूर्वतयारीसँगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बर्ताए।

५९ लाख राहत वितरण

जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झण्डै रु ५९ लाख राहत वितरण गरेको छ । बाढी, पहिरो, आगलागीजस्ता विपद्बाट प्रभावित तथा कोभिड–१९ प्रभावितलाई प्रशासनले चालु आवमा राहत वितरण गरेको हो ।

जिल्लामा चालु आवको हालसम्म बाढी, पहिरो र आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । उनीहरुको परिवारलाई प्रशासनको विपद् व्यवस्थापन कोषबाट रु १९ लाख वितरण गरिएको छ ।