NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अब भाइबरबाटै यती एअरलाइन्सको टिकट लिन पाइने

काठमाडौं । यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट लिन सकिने सुविधा मिलाएको छ । भाइबरमा ‘५-वटा-१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने छ ।

‘भाइबर नेपालसँगको सहकार्यमा यात्रुहरुलाई सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले ‘भर्चुअल सेल्स काउन्टर’ को व्यवस्था गरी यो सेवा २०७९ आषाढ १६ गतेबाट सुरु हुनेछ । हाम्रो भर्चुअल काउन्टर बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म १२ घण्टा खुल्ला रहने छ, सो समयभित्र यात्रुहरुले ‘५-वटा-१०’ भाइबर नम्बरमा मेसेज पठाई आफूलाई आवश्यक परेको टिकटको लागि अनुरोध गर्न सक्नुहुने छ ।

टिकटको भुक्तानी क्यूआर कोडमार्फत् सजिलैसँग गरी टिकट लिन सकिने छ,’ यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यात्रुहरुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

हाल यती एअरलाइन्सको टिकट मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई-सेवा र खल्ती मार्फत् उपलब्ध छ, अब भने यात्रुहरुले भाइबरमार्फत् पनि टिकट लिन सक्नेछन् ।

यात्रुहरुले सकेसम्म छिटो र सरल तरिकाले यती एअरलाइन्सको टिकट भाइबरबाट लिन सक्नेछन् । हाललाई यो सेवा मेसेज मात्र पठाउन मिल्ने गरी सुरु गरिएको छ, केही समयपश्चात् कल पनि गर्न मिल्ने व्यवस्था मिलाउने यती एअरलाइन्सले जनाएको छ ।