NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

यी हुन् पुरुषको नामको लाइसेन्स आफ्नो नाममा निकाल्ने महिला सैनिक

काठमाडौं । हालै सामाजिक सञ्जालमा दुईवटा मोटरसाइकलको एकै नम्बर प्लेट भएको तस्बिर भाइरल भइरहेको छ । बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर प्लेटको दुई पल्सर मोटरसाइकलबारे प्रहरीले यतिबेला छानबिन गरिरहेको छ । यसबारे समाचारहरू आउन थालेपछि एकजना मोटरसाइकलधनी ट्राफिक प्रहरीको सम्पर्कमा पुगे भने अर्का सवारी धनी फरार छन् ।

नेपालको यातायात प्रणालीमा बेथितिका चाङ छन् । त्यसमाथि पनि लाइसेन्स वितरणमा हुने गरेका अनियमितता अग्रपंक्तिमा आउँछन् । केही दिनअघिमात्रै आयोगले प्रतिव्यक्ति एक लाख २० हजार रूपैयाँसम्म घुस लिएर सवारी लाइसेन्स वितरण गर्नेविरूद्ध मुद्दा दायर गर्यो । यो अनुसन्धान गर्न आयोगलाई ९ महिना लागेको थियो । अनुसन्धानमा लिखित परीक्षा र ट्रायलविनै ५३३ जनालाई लाइसेन्स वितरण गरेको पाइयो । अनुसन्धान पूरा भएपछि आयोगले विशेष अदालतमा लाइसेन्स वितरण गर्ने कार्यालय प्रमुख र बिचौलियासहित १७ जनाविरूद्ध मुद्दा दायर गरेको हो ।

नक्कली लाइसेन्सको बिगबिगी सर्वसाधारणमा मात्रै नभएर नेपाली सेनामा पनि रहेको भेटिएको छ । अख्तियारले मुद्दा दायर गरेको सोही सूचीमा दुई नेपाली सेना पनि परेका हुन् । नेपाली सेनामा कार्यरत दुईजनाले नवीकरण नभएको सवारी अनुमतिपत्रमा आफ्नो विवरण राखेर लाइसेन्स बनाएको खुलेको हो ।

सामान्यतया यसरी नविकरण नभएकोमा अधिकांश दिवंगत भइसकेका व्यक्तिको सवारी अनुमति पत्र हुन्छ ।
सेनामा कार्यरत रामकुमार मिजारले हाल बोकिरहेको लाइसेन्सको असली मालिक जीतबहादुर शाही हुन् । शाहीको लाइसेन्सको म्याद विसं २०६६ मै सकिएको यातायात व्यवस्था विभागका एक कर्मचारीले बताए । काभे्रपलाञ्चोक जिल्लाको पनौती बस्दै आएका मिजारले बाहिरी रूपमा आफ्नो विवरण हालेको पुष्टि भएको हो ।

यातायातको सिस्टममा मिजारको लाइसेन्स नंबर ०१–०६–००९५६४६ र पाण्डेको लाइसेन्स नंबर ००६–७१२३१७ राख्दा दुवै चालकको विस्तृत विवरण एउटै देखिन्छ । मिजार काभ्रेको पाँचखालस्थित विरेन्द्र शान्ति तालिम केन्द्रमा कार्यरत छन ।

त्यस्तै सेनामै कार्यरत शर्मिला दुलालले पनि नक्कली लाइसेन्स चलाउँदै आएको पाइएको छ । काठमाडौं महानगर वडा नंबर ३ बस्दै आएकी दुलालले पनि संजीवराज पाण्डे नाम गरेका व्यक्तिको नवीकरण नभएको असली लाइसेन्समा आफ्नो विवरण थपेर सो लाइसेन्स आफ्नो बनाएकी छिन् ।

पाण्डेको लाइसेन्सको म्याद २०६५ सालमै सकिएको विभागको अभिलेखमा देखिएको छ । यहाँ पनि अवस्था उही छ । यातायातका सिस्टममा दुलालको लाइसेन्स नंबर ०१–०६–००९५६५४३ राख्दा दुवैजनाको विस्तृत विवरण एकै देखिएको छ । दुलाल इटहरीस्थित पूर्वी पृतना स्थापति सेवामा कार्यरत छिन् ।

नक्कली लाइसेन्स लिएर सवारी सधान चलाउने व्यक्तिलाई कारबाही गर्न ट्राफिक प्रहरीले ०७८ को फागुनबाट प्रविधिको प्रयोग सुरू गरेको थियो । यो समस्यालाई नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरिएको थियो । उक्त एपमार्फत लाइसेन्समा रहेका क्यूआर कोडलाई स्क्यान गरेपछि सक्कली र नक्कली छुटिने जानकारी गराइएको थियो । तर, हाल उक्त एप पनि कार्यान्वयनमा छैन । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले हालसम्म त्यस्तो कुनै एप कार्यान्वयनमा नरहेको जानकारी दिए । दासकाअनुसार यातायात कार्यालयमा खटिएका ट्राफिक प्रहरीले नै यसको पुष्टि गर्ने काम गरिरहेका छन् । तर, सडकमै एपका माध्यमबाट भने काम नभएको उनले बताएका हुन् ।

के भन्छन् सेनाका प्रवक्ता ?

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाल सेनामा कसैले सरकारी कागजात किर्ते गर्छ भने त्यो सह्य नहुने बताउँछन् । नराम्रो कामलाई कुनै पनि कोणबाट सेनाले संरक्षण नगर्ने विषयमा ढुक्क हुन उनले आश्वासन दिए । नेपालवाचसँगको कुराकानीमा उनले सैनिकद्वयले नक्कली सवारी चालक अनुमतिपत्र लिएको विषयलाई चेकजाँच गरिने र पुष्टि भएमा कारबाहीको दायरमा ल्याइने बताए ।
‘यो विषयलाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले भने, ‘यो सूचना पुष्टि भएको खण्डमा उहाँहरूलाई नेपाली सेनाको नीति नियम अनुसार कारबाही हुन्छ ।’

एउटै नम्बरका दुई मोटरसाइकल प्रकरण : ‘सक्कली’ सवारीधनी भेटिए