NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा

काठमाडौँ । सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति २०७७/०७८ देखि २०८७/८८ सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो ।

रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नेपालमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो । रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ ।

स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिए । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारको स्वास्थ्य सेवा पुर्‍याउन राज्यले नसकेको समेत बताए ।

‘अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्’ मन्त्री खापुङले भने ‘ देशभर समतामूलक सेवा पुर्‍याउन आवश्यक भएको र रणनीतिले लिएको लक्ष्यअनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ । ’ कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने बताए ।

उनले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीतिअनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी क्षेत्रमा जानै पर्नेमा जोड दिए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रणनीति कार्यन्वयन गर्न सके मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सकिने बताए ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाले गुणस्तरीय नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति परिचालन गरी स्वास्थ्य सेवाको गुणस्तर र व्यवसायीकताको प्रवर्धन गर्नका लागि रणनीति ल्याइएको बताए ।

नर्सिङलाई विशिष्टिकृत सेवा

यस्तै नर्सिङ सेवालाई विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवको रुपमा विकास गरिने उल्लेख गरिएको छ । “ विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्यलाई स्वास्थ्य सेवामा अभिवृद्धि गर्न विशेषज्ञ तथा विशिष्टिकृत नर्सिङ सेवाको विकास र व्यवस्था गरिने छ”  रणनीतिमा उल्लेख गरिएको छ । यस्तै नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शैक्षिक संस्थाको भौतिक पूर्वाधार र जनशक्तिको न्यूनतम मापदण्डलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।

नर्सिङ जनशक्तिको प्रक्षेपण

अहिले रहेका नर्सिङ जनशक्ति अपर्याप्त रहेकाले मुलुकको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने लक्ष्य रणनीतिले लिएको छ । रणनीतिमा देशको आवश्यकता र प्रक्षेपणको आधारमा नर्सिङ तथा मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ ।

सङ्गठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आपूर्ति र परिचालन गर्ने रणनीतिमा उल्लेख छ । सङ्घीय संरचनाअनुरुप नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको गणना र प्रक्षेपण, अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सोहीअनुरुप सबै सरकारी तथा निजी शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीतिमा उल्लेख छ ।

अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन् ।