NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जब एउटै नम्बरका दुई मोटरसाइकल चालकको भेट भयो, त्यसपछि के–के भयो ?

काठमाडौं । गत बुधबार काठमाडौंको सडकमा अनौठो दृश्य देखियो । एकै नम्बर प्लेटका दुईवटा मोटरसाइकल जाममा भेटिए । बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका दुई मोटरसाइकल बुधबार गौशालामा भेटिएपछि कसैले तस्बिर खिच्यो र सामाजिक सञ्जाल सञ्जालमा राख्यो । त्यो भाइरल बन्यो । त्यसको केही घण्टापछि सक्कली मोटरसाइकल धनी सम्पर्क आए ।

उनी थिए हाल काठमाडौंको सुविधानगर बस्ने काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिकाका शिवहरि सत्याल । उनै सत्यालले आफ्नै नम्बरको अर्को मोटरसाइकल सडकमा गुडिरहेको देखेपछिको अनुभव र अवस्था नेपालवाचकर्मी दीपेन्द्र सापकोटासँग यसरी साटेका छन् :

त्यो दिन (असार १५) मेरो चाहविल जाने काम थियो । त्यसैले, म बस्ने सुविधानगरबाट बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरको १५० सिसीको आफ्नै मोटरसाइकलमा एयरपोर्टको अगाडिको बाटो हुँदै त्यतातिर जाँदै थिएँ । बिहानको त्यस्तै ८.२५ भएको हुनुपर्छ, गौशालामा पुगेपछि जाम पर्यो । यसो दायाँतिर हेर्छु त आफ्नै नम्बरको अर्को मोटरसाइकल छ । विश्वास नलागेर फेरि पढ्छु उस्तै आफ्नै नम्बर प्लेटको छ । म छक्क परेँ । एक किसिमले अवाक जस्तो भएँ । तैपनि सम्हालिएर एनएस पल्सर चढिरहेका ती युवालाई सोधेँ, ‘हाम्रो मोटरसाइकलको नम्बर त एउटै छ त, कसरी यस्तो भयो ?’

ती युवा केही भन्दै थिए । त्यतिबेलै जाम खुल्यो । उनी भागिहाले । हेल्मेट, मास्कले गर्दा उनको अनुहार चिन्न सकिनँ । फेरि हल्का पानी पनि परिरहेको दिन थियो त्यो बेला । दुवैजनाले रेनकोट पनि लगाएका थियौं । उनी हेर्दा–हेर्दै भागिहाले ।

त्यो दिन मैले मोबाइल बोकेको थिइनँ, कसैलाई फोन गर्न सकिनँ । फेरि कामका लागि गएको थिएँ, अल्मलिने कुरा भएन । फेरि कतै मैले नै गलत नम्बरको मोटरसाइकल त चढेको छैन भन्ने झस्का पनि लागिरहेको थियो । तर, जब म घर फर्किएर कागजपत्र हेरेँ त्यसपछि त्यो शंका दूर भयो । । त्यो बेलासम्म कसैले तस्बिर खिचेर यो प्रकरणलाई भाइरल बनाइसकेको रहेछ । तस्बिर कसले खिच्यो मलाई थाहै भएन ।

मैँले घरमै छोडेको मोबाइलमा प्रहरीको फोन धेरैपटक आएको रहेछ । त्यसपछि म काजगपत्र बोकेर रामशाहस्थित महानगरीय ट्राफिक महाशाखा गए । यसपछि भने मोटरसाइकलको सक्कली धनी मै हुँ भन्ने प्रमाणित भयो । अर्का व्यक्तिबारे चाहिँ मलाई केही थाहा छैन । प्रहरीले खोजी गरिरहेको छ भन्ने सुनिएको छ ।

एउटै नम्बरका दुई मोटरसाइकल प्रकरण : ‘सक्कली’ सवारीधनी भेटिए