धौलागिरि आधार शिविरमा भेडाका बथान

गलेश्वर । बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरि क्षेत्रमा गरेको घुम्ती भेडापालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा रहेका युवालाईसमेत रोमाञ्चक व्यवसाय बनेको छ ।
करिब दुई दशकसम्म वैदेशिक रोजगारीमा मलेसिया र सिङ्गापुर बसेर स्वदेश फर्किएका छन्त्यालले विगत पाँच वर्षदेखि आफ्ना बाबुबाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेका छन् ।
आफ्नै पिता पुर्खाका पैतालाको डोबलाई पछ्याउँदै अहिले छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन् ।
छन्त्यालले जङ्गल, भिर, पहरो छिचोलेर धौलागिरि गाउँपालिका–५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) बाट १० दिनको कठोर यात्रा पछि शुक्रबार धौलागिरि आधार शिविरको खर्कमा आइपुगेको जानकारी दिएका छन् ।
“विभिन्न समस्याको सामना गर्दै धौलागिरि आधार शिविरको बेसक्याम्पमा सकुशल आइपुगेको छु”, छन्त्यालले भने । छन्त्यालको पारिवारिक बसाइ पोखरामा छ । सिङ्गापुरको रमाइलो जिन्दगी र पोखराको बसाइलाई समेत बिर्साउने गरी छन्त्यालले धौलागिरि क्षेत्रमा रहरलाग्दो भेडापालन गरेका छन् । भेडा बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आउनुभएका छन्त्याललाई पैसाको भन्दा पनि आफ्ना पिता पुर्खाको पेसालाई निरन्तरता दिने इच्छा छ । त्यसैले परिवारलाई पोखरामा राखेर आफूले पिता पुर्खाले गर्दै आएको भेडापालन व्यवसाय नै रोजेको छन्त्याल बताउँछन् ।
भेडाको बथान लिएर छन्त्याल धौलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धौलागिरि हिमालको बेसक्याम्पतिर उक्लिएका हुन् ।
“यो मेरा पिता पुर्खाले भेडापालन गरेर आफ्ना सन्ततिको भविष्य उजिल्याएको ठाउँ हो, यो ठाउँमा मेरा बुबा, बाजे र अझै अघिल्ला पुस्ताको पैतालका डोब छन्, म मेरा पूर्वजका तिनै डोबलाई पछ्याउँदै उहाँहरुले नै गर्नुभएको व्यवसायलाई निरन्तरता दिनका लागि यो जोखिम उठाएको हुँ”, छन्त्यालले भने । उनले जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताए ।
एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु २५ लाखभन्दा बढी आम्दानी भएको उहाँले जानकारी दिए । उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालको भनाइरहेको छ । बिहान उठेर भेडाको गणना गर्दै उनको दिन सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनःगोठमै फर्केर भेडाको स्याहारमै लाग्ने बताउँछन् ।
छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब रु ५० लाख लगानी गरेर भेडापालन सुरु गरेको बताए । भेडालाई चरनका लागि एक ठाउँले मात्र नहुने हुँदा ठाउँठाउँमा घुम्ती गोठमार्फत भेडा चराउँदै आएको उनको भनाइ छ । आफूबाहेक दुई हेरालोसमेत उनले राखेका छन् ।
ताजा अपडेट
-
फोहर अवरोधमा प्रतिपक्षी एमाले र राप्रपा पनि मिलेकोमा भावुक हुँदै बालेनले भने : सीमित व्यक्तिका स्वार्थ पूरा गर्न सक्तिन
-
बाबुरामसँग मिलेर प्रचण्डले ५५ सिट दाबी गर्ने, सहमति अनुमोदन गर्न बोलाए बैठक
-
नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको पत्रमा के–कस्ता प्रश्न उठाइएको छ ? (पूर्णपाठसहित)
-
थप ८८८ जनामा कोरोना संकुमण, ४७४ कोरोनामुक्त
-
पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार छ : पर्यटनमन्त्री
प्रतिक्रिया