NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

पोखरा । यहाँ आज साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सञ्चालन भएको अवार्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तानसमेत रहेकी शाही महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरे ।

खेलाडीले पछिल्लो एक वर्षका अवधिमा खेलेको राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रदर्शनलाई आधार मानेर विजेता घोषणा गरिएको मञ्चले जनाएको छ । शाहीले आफूसँगै मनोनयनमा परेका क्रिकेटकी मनिषा उपाध्याय र कराँतेका सरगम कुमाललाई पछि पार्दै दोस्रो पटक स्पोर्ट्स अवार्डको उपाधि जित्न सफल भएकी छन् ।

यसैगरी टेनिसका खड्काले पुरुषतर्फ मनोनयनमा परेका ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामालाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भई उनले पनि उपाधिसहित एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरे ।

‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाबाट सम्मान गरे ।

उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले हासिल गरे । उत्कृष्ट प्रशिक्षक टेनिसका निरज थापा, उत्कृष्ट खेल सङ्घको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको उपाधि पत्रकार दीपक परियारले प्राप्त गरे ।

उत्कृष्ट सबै जनालाई जनही रु ३५ हजार र ट्रफी प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी, खेल सङ्घ तथा खेल पत्रकारलाई मुख्यमन्त्री पोखरेल, पोखरा महानगर प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।