NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नेकपा ब्युत्याउँने प्रयासमा शीर्ष नेताबीच भेटघाट, एमालेको पनि ‘ग्रीन सिग्नल’ !

काठमाडौं । फेरि वाम गठबन्धनको चर्चा भइरहेका बेला साविक नेकपाका सचिवालय सदस्यबीच भेटवार्ता भएको छ ।
बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको हो ।

भेटमा तत्कालीन नेकपाका सचिवालय सदस्य पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको छ।

नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको प्रचण्डपुत्री गंगा दाहालले जनाएकी छिन् ।

नेकपाको विवाद बढ्दै जाँदा अदालतले एमाले र माओवादी ब्युत्याइदिएको थियो । एमालेबाट अलग भई माधव नेपाल नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । अर्का नेता वामदेव गौतमले पनि अलग पार्टी घोषणा गरी वाम एक ठामको नीति अघि सारेका छन् ।

यसैबीच एमालेको सचिवालय बैठकले पनि फेरि पनि गठबन्धन बनाएर चुनावमा जान सकिने आशय व्यक्त गरेको छ । बैठकपछि नेता पृथ्वीसुब्बा गुरुङले चुनावसम्म अहिलेको सत्ता गठबन्धन भत्किंदा एमाले चुप लागेर नबस्ने प्रतिक्रिया दिएका छन् । गठबन्धन बनाउने विषयमा नेताबीच कुराकानी भएको भन्दै उनले अब विस्तारै दलबीच संवाद हुने पनि बताएका छन् ।

तर एमालेले खुलेर कुनकुन दलसँग गठबन्धन बनाउने भनेको छैन । पार्टी विभाजनपछि कतै नलागी केही दिन अघिमात्रै राष्ट्रिय एकता अभियानको घोषणा गरेका गौतमले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्षसँग भेट गरी वाम दल मिलेर अगाडि बढ्नुपर्ने कुराकानी गरेका थिए । प्रचण्डले सकारात्मक जवाफ दिए पनि ओली खुलेका छैनन् ।

तर सत्तारुढ गठबन्धनलाई कुनै हालतमा फुट्न  नदिने रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । प्रतिनिधिसभा र प्रदेशसभामा उपयुक्त भागबण्डा गरेर भए पनि माओवादी, नेकपा एकीकृत समाजवाद र जसपालाई आफूसँग राख्ने तयारी छ । पार्टीमा विरोध भए पनि देउवाले गठबन्धनलाई कायमै राख्ने नीति लिएका छन् ।

गठबन्धन बनाएरै देउवाले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाएका थिए । गठबन्धनको फाइदा माओवादी, नेकपा एस र जसपाले पनि उठाएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्णायक देखिन सक्ने माओवादी, नेकपा एस, जसपा कांग्रेस र एमालेको तानातानमा पर्न सक्ने देखिएको छ ।