NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सत्तागठबन्धन भत्किने एमालेको निष्कर्ष

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले पाँचदलीय सत्तारूढ गठबन्धन भत्किने निष्कर्ष निकाल्दै संघ र प्रदेशका लागि नयाँ समीकरणको प्रयास थाल्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले संघ र प्रदेशको निर्वाचनमा आफ्नै नेतृत्वमा चुनावी तालमेल वा अर्को नयाँ गठबन्धन बन्न सक्ने सम्भावना औँल्याएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा र डा.बाबुराम भट्टराई नेतृत्वको जसपाको एउटा समूहसँग एमालेले आगामी चुनावका लागि गठबन्धनको प्रस्ताव गरेको सार्वजनिक भइरहँदा एमाले पदाधिकारीहरू सम्मिलित सचिवालयले नयाँ गठबन्धनबारे परामर्श गरेको हो । स्थानीय निर्वाचन परिणामपछि सत्तागठबन्धनभित्र अविश्वास र अन्तरविरोधका साथै हरेक दलभित्र गठबन्धनलाई हेर्ने दृष्टिकोणमै फरक मत देखा परेको एमालेको विश्लेषण छ ।

यी सबै घटनाक्रमले गठबन्धन सग्लो अवस्थामा अगाडि बढ्ने सम्भावना नरहेको एमालेको निष्कर्ष छ । ‘सत्तारूढ दलमा भएकाले गठबन्धन कायम गर्छौं भने पनि त्यो कायमै रहन्छ भन्ने विश्वास छैन । माओवादी र नेकपा एसले कांग्रेसबाट अपमान महसुस गरेका कारण ती पार्टीभित्रै गठबन्धन कायम राख्नु उचित छैन भन्ने मत उठेको छ । घटनाक्रम कसरी विकास भएर जान्छ, हामी हेर्ने पक्षमा छौँ,’ उपमहासचिव पृथ्बीसुब्बा गुरुङले भने, ‘जसपा झन्डै विभाजनको संघारमा छ, विभाजितमध्ये कुन शक्ति कता लाग्छ, भविष्यले देखाउला ।

त्यस्तो अवस्थामा हामी पनि हातखुट्टा बाँधेर बस्ने स्थिति हुँदैन, सबैले आ–आफ्नो खेलोफड्को गरी नै हाल्छन् । त्यो स्थितिमा अहिलेको शक्तिसन्तुलन भत्किने, केही न केही कमजोर बन्ने स्थिति देखिन्छ । अर्कोतर्फ नयाँ–नयाँ अरू प्रक्रिया पनि सुरु भइरहेको छ ।’ गुरुङले चुनावकेन्द्रित गरेर नयाँ गठबन्धनका लागि एमालेले पनि अनौपचारिक तहमा वार्ता र छलफल चलाइरहेको स्वीकार गरे । ‘अहिले घोषित रूपमा पार्टीले कसैसँग वार्ता गरेको छैन, तर आजको खुला प्रतिस्पर्धाको राजनीतिमा व्यक्ति–व्यक्ति तहमा कुराकानी भई नै रहेको छ ।

अहिले नै सबै निक्र्योल गर्न सकिन्न र कुरा नकारात्मक पनि छैन,’ गुरुङले भने । एमालेका दोस्रो तहका नेताहरूले माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेतासँग सम्भावित गठबन्धनकै विषयमा अनौपचारिक छलफल गरिरहेका छन् । त्यस्तै, लोसपा र डा। भट्टराईले नेतृत्व गरिरहेको जसपाको एउटा समूहसँग एमालेले सम्भावित गठबन्धनका लागि प्रारम्भिक कसरत अगाडि बढाइरहेको छ । गुरुङले सत्तारूढ गठबन्धनभित्र अन्तरविरोध चर्किंदै गएको पछिल्लो विकसित परिस्थितिमा सरकारले गरेका जनविरोधी क्रियाकलापको भण्डाफोर अभियान चलाएर एमालेले थप शक्ति आर्जनसहित आफ्नै सामाथ्र्यमा प्रतिस्पर्धा गर्ने गरी चुनावको तयारी गर्ने पार्टीको प्राथमिकता रहेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।