NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

तीन मन्त्री फेरिंदै, को–को हुन् मन्त्री बन्न लागेका तीन अनुहार ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्री फेरिएपछि जसपाले पनि मन्त्री फेर्ने भएको छ । प्रधानन्त्री शेरबहादुर देउवासँगको भेटमा अध्यक्ष उपेन्द्र यादवले पुरानालाई फिर्ता गरी नयाँलाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

यादवले नयाँ मन्त्रीको नाम पनि बुझाएका छन् । अब नयाँ मन्त्रीले आजै साँझसम्म नभए भोलि सपथग्रहण गर्ने बालुवाटार स्रोतको भनाई छ ।

यी हुन् फिर्ता बोलाइएका मन्त्री

यादवले फिर्ता बोलाएका मन्त्रीमा भौतिक पूर्वाधारका रेणु यादव कृषिका महिन्द्रराय यादव र वनका रामसहाय यादव छन् । रामसहाय र रेणु अध्यक्ष यादव निकटका हुन् । महिन्द्रराय यादव भने बाबुराम निकटका मानिन्छन् ।

को हुन् नयाँ अनुहार ?

पुराना मन्त्री फिर्ता बोलाएपछि भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई, वनमा प्रदीप यादव र कृषिमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरिएको हो ।

यस अघिकै सहमति अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ भने परिवर्तन नहुने भएका छन् ।

नेकपा एसले जस्तै जसपाले पनि ६ महिनाको लागि सहमति गरी नेताहरूलाई मन्त्री बनाएको दाबी गरेको छ । डा. बाबुराम भट्टराई पार्टीबाट अलग्गिने भएपछि यादवले आफ्ना विश्वासपात्रलाई फिर्ता बोलाएर असन्तुष्ट हुन सक्ने नेतालाई मन्त्री बनाउन लागेका हुन् ।

कांग्रेसमा छैन तयारी

नेकपा एस र जसपामा मन्त्री फेरिने भएपछि कांग्रेसमा पनि केही नयाँ अनुहारले मन्त्रीमा इच्छा देखाएका थिए । तर प्रधानमन्त्री देउवाले चुनावको मुखमा मन्त्री फिर्ता बोलाएर नयाँलाई अवसर दिने तयारी गरेका छैनन् । मन्त्री फेर्न खोज्दा दाबेदार धेरै हुने, गुटको सन्तुलन मिलाउन गाह्रो हुने भएपछि देउवाले अहिले यो विषयलाई नउठाउने उनी निकट नेता बताउँछ्न् ।

कांग्रेसमा युवा नेता गगन थापाले मन्त्रीका लागि नयाँ अनुहारले आकांक्षा राखेको भन्दै अवसर दिनुपर्ने सार्वजनिक रुपमा नै बताउँदै आएका छन् ।

कांग्रेसमा पनि नयाँ मन्त्रीको खोजी ! को–को छन् आकांक्षी ?

फेरि मन्त्री फेर्ने तयारी, को जाँदैछन् ? को आउँदैछन् ?