NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

माओवादी केन्द्रीय समिति बैठक : पदाधिकारी गठन गर्न दबाब, वाम गठबन्धन बनाउन सुझाव

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि जारी केन्द्रीय समिति बैठक स्थगित गरी आन्तरिक छलफलमा जुटेका छन् ।

बैठकमा प्रचण्डले प्रस्तुत गरेका १० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि ४३ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना सुझाव दिएका छन् । प्रदेश अध्यक्षहरूले आ–आफ्ना क्षेत्रका समस्याबारे समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका छन् ।

आइतबार बसेको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिएपनि आकांक्षी धेरै भएका कारण पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठनका हुन सकेको छैन । पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो छिटो टुंगो लगाउन केन्द्रीय सदस्यहरूले दबाब दिएपछि त्यसै विषयमा छलफल गर्न प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी समिति बैठक बस्यो ।

बैठकमा सदस्यहरूले निर्वाचनअघि नै पदाधिकारी चयन गरी नेताहरूलाई पदीय जिम्मेवारी तोक्न नेतृत्वलाई सुझाव दिएका छन् । सर्वम्मत रूपमा पदाधिकारी चयन हुन नसके निर्वाचन प्रक्रियाबाट भएपनि टुंग्याउन नेतृत्वलाई दबाब दिएको एक नेताले बताए ।

‘निर्वाचनमा जाँदा सम्पूर्ण नेताहरूको जिम्मेवारी तोक्नुपर्छ । केन्द्रदेखि स्थानीय तहसम्म जिम्मेवारी बाँडफाँड हुँदा त्यसले पार्टीलाई गतिशिल बनाउँछ’, एक नेताले भने, ‘सबैले जिम्मेवारीका साथ आ–आफ्नो क्षेत्रमा केन्द्रीत गरियो भने पार्टीलाई जनतासँग घुलमिल गराउन महत्वपूर्ण भूमिका खेल्छ । यदि हामीले संगठनात्मक कामलाई थाँती राखियो झन समस्या उत्पन्न हुन्छ । समग्रमा यसले पार्टीलाई नै कमजोर बानाउँछ ।’

गत पुसमा भएको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा चयन गरेपनि वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली छ ।

त्यस्तै केन्द्रीय सदस्यहरूले अर्थमन्त्री जनार्दन शर्माको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । मन्त्रीको काम कारवाहीबारे प्रतिपक्षले प्रश्न उठाउनु आफ्नो धर्म भएपनि बजेट निर्माण प्रक्रियाको सम्बन्धमा अर्थमन्त्रीको कार्यशैली ठीक नभएको धारणा राखेका थिए ।

‘बजेट निर्माणको विषयमा एमालेले राजनीतिकरण गरेको देखियो । यद्यपि अर्थमन्त्रीले गल्ती नै गरेको छैन भन्न खोजिएको होइन । उहाँको पनि धेरै गल्ति भएको छ । यसबाट पाठ सिकेर अब गल्ती नगर्ने प्रतिवद्धता जनाउनुपर्छ’, केन्द्रीय सदस्यहरूको भनाइ उद्धित गर्दै एक नेताले भने ।

त्यस्तै केन्द्रीय सदस्यहरूले वाम एकताबारे बहस गरेका छन् । उनीहरूले ०७४ मा एमालेसँग पार्टी एकता गर्नुभन्दा पनि गठबन्धन बनाएर नजाँदा नेकपा दुर्घटनामा परेको धारणा राखे । ‘उनीहरूले वामपन्थीसँग एकता गर्दा जनआकर्षण जति बढेको थियो, त्यतिमात्रामा कांग्रेससँगको गठबन्धन सफल नभएको निष्कर्ष निकालेका छन् । आगामी निर्वाचमा एमालेसहित वृहत वामपन्थी ध्रुबीकरण गरेर जान नेतृत्वलाई सुझाव दिएका छन् ।

यसैगरी स्थानीय तह निर्वाचनमा कांग्रेसबाट धोका भएको निष्कर्ष निकालेका छन् । गठबन्धनप्रति माओवादी जति इमान्दार भएपनि कांग्रेस नदेखिएको सदस्यहरूले आरोप लागएका छन् । उनीहरूले एमालेसँग तिक्ततापूर्ण व्यवहारभन्दा पनि मैत्रीपूर्ण सम्बन्ध राख्न सुझाएका छन् ।

त्यस्तै केही सदस्यहरूले राष्ट्रियताको विषयमा नेतृत्वले लिएको नीतिप्रति असन्तुष्टि जनाएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन( एमसिसी) सम्झौता अनुमोदनको विषयमा अध्यक्षले दोहोरो चरित्र देखाएको भन्दै प्रचण्डको आलोचना गरेका छन् ।

एसपिपीको सम्बन्धमा पनि नेतृत्वले एमसिसीको जस्तै भूमिका खेलेका छन् कि छैन् भनि प्रश्न उठाएको एक नेताले बताए ।
‘हाम्रो अध्यक्ष एकदम उदार र भावुक हुनुहुन्छ । कसैले इमोसन ब्ल्याकमेल गर्यो भने उहाँ तुरून्तै पग्लिनु हुन्छ’, एक नेताले भने ।
ती नेताका अनुसार राष्ट्रियताको विषयमा केन्द्रीय समितिमा कुनै छलफल नगरी अध्यक्षले एकल निर्णय गरेको भन्दै केन्द्रीय सदस्यहरूले प्रचण्डको आलोचना गरेका थिए ।

माओवादीसहितको सरकार भएपनि मँहगी, भ्रष्टाचार, कालाबजारी नियन्त्रणका लागि सरकारले राम्रो काम गर्न नसकेकोमा सरकारको आलोचना गरेका छन् ।