NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अमेरिकामा स्वतन्त्रता दिवसमा निकालिएको परेडमा बन्दुक आक्रमण, ६ को मृत्यु

वाशिंटन । अमेरिकामा सोमबार सिकागोनजिकैको हाइल्याण्ड पार्कमा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । यस आक्रमणमा कम्तीमा २४ जना घाइते भएको बताइएको छ ।

हाइल्याण्ड पार्कका प्रहरी प्रमुखले आक्रमणमा संलग्न २२ वर्षीय संदिग्धलाई पक्राउ गरिएको दाबी गरेका छन् । प्रहरीले एक राइफलसमेत बरामद गरेको छ ।

राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन् । उनले आक्रमणपछि हाइल्याण्ड पार्कका जनताको सहयोगका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको बताए ।

राष्ट्रपति बाइडेनले परेड शुटिङको घटनाबारे थाहा पाएर आफू स्तब्ध भएको बताए । उनले अमेरिकामा बन्दुक हिंसाविरुद्धको लडाई जारी राख्ने पनि बताएकाछन् ।

प्रहरीले अग्लो भवनको छतबाट परेडमा निस्किएका मानिसहरूमाथि गोली प्रहार गरेपछि बालबालिका लिएर आएका सयौं मानिस डराएर यताउता दौडिन थालेको प्रहरीले जनाएको छ । आक्रमणपछि संदिग्ध केही घण्टासम्म फरार भएका थिए ।

हाइल्यान्ड पार्कका प्रहरी प्रमुख लु जोगम्यानले पक्राउ परेका २२ वर्षीय रोबर्ट इक्रिमोको रूपमा पहिचान भएको बताए । समाचार एजेन्सी पिटिआईका अनुसार प्रहरीले आक्रमणकारीको पहिचान कसरी भयो भन्ने कुरा बताउन अस्वीकार गरेको छ ।

इलिनोइस राज्यका गभर्नर जे रोबर्ट प्रिट्जकरले गोलीबारी अमेरिकामा साप्ताहिक परम्परा भएको चेतावनी दिए । परेड सुरु भएको १० मिनेटमै फायरिङ सुरु भएको थियो । अमेरिकामा गत महिना टेक्सास, बफेलो सुपरमार्केटलगायत धेरै ठाउँमा गोली चलेको घटना भएको थियो ।