NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पदाधिकारी छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठनको सम्पूर्ण अख्तियारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

मंगलबार प्रचण्ड निवासमा बसेको पूर्वस्थायी समिति र केन्द्रीय कार्यलय बैठकले पदाधिकारीसहितको समिति गठन गर्ने जिम्मा प्रचण्डलाई दिएको नेता गणेश साहले जानकारी दिए ।

‘पादाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्ने जिम्मा अध्यक्षलाई दिइएको छ । आज बसेको पूर्वस्थायी समिति र केन्द्रीय कार्यलय बैठकमा अध्यक्षले पदाधिकारी गठनबारे सहमतिको प्रस्ताव राख्नुभएको थियो’, साहले भने, ‘पदाधिकारी छनोट, स्थायी समिति र पोलिटब्यूरो गठन सम्बन्धमा हामीले आ–आफ्ना सुझाव दिएका छौं । उहाँले आफ्नो हिसाबले अधिकार प्रयोग गर्नुहुन्छ ।’

गत पुसमा भएको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा चयन गरेपनि वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली छ ।

केन्द्रीय समितिमा बहुमत सदस्यले पदाधिकारीसहित समिति गठन गर्न प्रचण्डलाई दबाब दिएपछि उनले बैठक स्थगित गरी पदाधिकारी छनोटका लागि गृहकार्य गरेका हुन् । उनले सर्वसम्मत रूपमा पदाधिकारी छनोट गर्नुपर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।

अख्तियारी दिएको आधारमा प्रचण्डले भोलि बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।

त्यस्तै केन्द्रीय समितिको एक तिहाइ सदस्य रहने गरी पोलिटब्यूरो र पोलिटब्यूरोको एक तिहाइ रहने गरी स्थायी समिति सदस्यहरूको नामावली प्रस्ताव गर्नेछन् ।

आइतबारदेखि जारी केन्द्रीय समिति बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड पदाधिकारीसहित समिति गठनका लागि आन्तरिक तयारीमा लागेका छन् ।
प्रचण्डले सकभर पूर्वस्थायी समितिबाट नै पदाधिकारी चयन गर्ने तयारी गरेका छन् ।

महासचिवमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनबीच कडा टक्कर रहेकाले प्रचण्ड अप्ठ्यारोपमा परेका छन् ।