NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रचण्डले पदाधिकारी बनाउन लागेका को–को हुन् माओवादीका नेताहरू ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदाधिकारी चयनको अन्तिम तयारीमा जुटेका छन् ।

आइतबारदेखि प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा बहुमत केन्द्रीय सदस्यले पदाधिकारी चयन गर्न दबाब दिएपछि प्रचण्ड मंगलबारको बैठक स्थगित गरी पदाधिकारी छनोटको लागि गृहकार्यमा लागेका हुन् ।

बिहान खुमलटारमा बसेको पूर्वस्थायी समिति र केन्द्रीय कार्यालयको विस्तारित बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्ने जिम्मा प्रचण्डलाई दिएको छ ।

महाधिवेशनपछि पुस १९ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेको थियो ।

नयाँ विधानअनुसार अध्यक्ष– १, वरिष्ठ उपाध्यक्ष– १, उपाध्यक्ष– ६, महासचिव–१, उप–महासचिव– २, सचिव– ३ र कोषाध्यक्ष– १ रहने व्यवस्था छ । आइतबार नै पदाधिकारी चयन हुने दाबी गरेपनि केन्द्रीय समितिले मात्र पूर्णता पाएको छ । यसअघि अध्यक्षबाहेक अन्य पदाधिकारीमा सहमति नजुट्दा बैठक पटक–पटक बैठक स्थगित हुँदै आएको थियो ।

अब पदाधिकारीमा अध्यक्ष बाहेक १४ जना छानिँदैछन् । तर आकांक्षी धेरै भएपछि प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।

उपाध्यक्षमा को–को छन् आकांक्षी ?

एकजना वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ लगभग पक्का भएका छन् । वरिष्ठपछिको ६ जना उपाध्यक्षमा पार्टी प्रवक्ता कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, मात्रिका यादव, पम्फा भुसाल र गिरिराजमणि पोखरेलको सम्भावना देखिन्छ ।

पूर्णसमानुपातिक प्रणाली खारेज भएपछि समावेशी मान्यताअनुसार पदाधिकारीमा महरा, गुरुङ, यादव र भुसाल उपाध्यक्षमा लगभग निश्चित देखिन्छ । पुरानै स्थायी समितिबाट पदाधिकारी चयन हुने एक नेताले बताए ।

महासचिवमा जनार्दन भर्सेस वर्षमान

अध्यक्षपछि मुख्य कार्यकारी पद मानिएको महासचिवमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री पुनबीच तीव्र प्रतिस्पर्धा छ । माओवादीको पूरै संगठन हाँक्ने हुँदा महासचिवमा प्रचण्डले कसलाई ल्याउँछन् भन्नेमा सबैको चासो रहेको छ । शर्मा र पुन दुवै विश्वासिला पात्र भएकाले महासचिव छनोटमा प्रचण्ड निकै दबाबमा छन् । तर पछिल्लो समय अर्थमन्त्री शर्मा गभर्नर निलम्बन, बजेट निर्माणलगायत विषयमा विवादमा तानिएका छन् ।

उनको मन्त्री पदसमेत धरापमा परेको छ । पार्टीभित्रै र बाहिर यतिबेला शर्मा निकै आलोचित छन् । शर्माकै कारण पार्टीलाईसमेत धक्का लागेकाले उनी महासचिव बन्ने सम्भावना नरहेको स्रोतको दाबी छ । पूर्वस्थायी समितिका एक जना नेताका अनुसार पदाधिकारी छनोटको जिम्मा अध्यक्षलाई नै दिएकाले प्रचण्डले जसलाई चाहे उही महासचिव बन्नेछन् ।

पार्टीभित्र र बाहिरको काममा प्रचण्डले पुनलाई धेरै विश्वास गरेकाले महासचिव कसलाई बनाउने भन्नेबारे प्रचण्ड निष्कर्षमा पुगे पनि शर्मा र उनीमध्ये एक महासचिव बन्ने पक्का भएको छ ।

त्यस्तै दुई उप–महासचिवमा शिक्षामन्त्रीसमेत रहेका नेता देवेन्द्र पौडेल र शक्ति बस्नेत आउने सम्भावना रहेको छ । यसमा गणेश साह, लिलामणि पोखरेलको पनि चर्चा चलेको छ । तर, उनीहरूलाई सचिवमा व्यवस्थापन गरिने सम्भावना रहेको स्रोतको दाबी छ ।

सचिवमा तीन जनाको चर्चा

तीन सचिवको व्यवस्था रहेको माओवादी केन्द्रमा गणेश साह, चक्रपाणि खनाल र लिलामणि पोखरेलको चर्चा छ । साह र खनाल सचिवमा सम्भावना बलियो रहेपनि बाँकी एकमा सुनिश्चित भइसकेको छैन ।

कोषाध्यक्षमा हरिबोलको सम्भावना रहेपनि उनी उपाध्यक्षमा आकांक्षी देखाएकाले यसले मुर्तरूप पाइसकेको छैन । कसलाई कुन पदको जिम्मेवारी दिनेमा अध्यक्ष प्रचण्डको तजविजको विषय भएकाले पूर्वस्थायी समितिबाट नै पदाधिकारी चयन हुने लगभग निश्चित भएको सहभागी एक नेताले जानकारी दिए ।

पदाधिकारी छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने माओवादी केन्द्रको निर्णय