NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

विम्बल्डन र महिनावारी : ‘सेतो पोशाक’ महिला खेलाडीका लागि चुनौती

काठमाडौं । विश्वका ठूला ठूला खेलकुद प्रतियोगितामा महिला खेलाडीले महिनावारीलाई लिएर आफूलाई हुने समस्याबारे बारम्बार बोल्दै आएका छन् । यसपटक पनि विम्बल्डनमा सेतो पोशाकका कारण नै महिला खेलाडीहरुको आत्मविश्वास कमजोर हुने भन्दै यसबारे बहस सुरु भएको छ ।

विम्बल्डनमा खेल्ने समयमा महिला खेलाडीले सेतो पहिरन लगाउनु पर्ने भएकाले खेलको दुई साताकाे अवधिमा महिनावारी नहोस् भनेर छुट्टै तनाव लिनु परेको बताएका छन् ।

पूर्वटेनिस ओलम्पिक च्याम्पियन मोनिका पुइगले हालै यसबारे ट्वीट गर्दै यो मुद्दा उठाएकी छिन् ।

बेलायतकाे विम्बल्डन विश्वभर हेरिने टेनिसकाे प्रतिष्ठित एवं महत्वपूर्ण प्रतियोगिता हो र यसमा सेतो पहिरन अनिवार्य गरिएकाे छ, याे पुरानो परम्परा पनि हो । विम्बल्डनको नियमअनुसार स्कर्ट, सर्ट र ट्रयाकसुट पूर्ण रुपमा सेतो हुनुपर्छ । तर टेनिसका अन्य ग्रान्ड स्लामहरू युएस ओपन, फ्रेन्च ओपन र अष्ट्रेलियन ओपनमा भने सेतो ड्रेस कोड राखिएको छैन ।

मोनिका पुइगले टेनिस र अन्य खेलका केही नियमले महिला खेलाडीलाई समस्यामा पारेको छ भन्ने विषयमा बहस सुरु गरेकी छिन् । भारतकी टेनिस खेलाडी तारुका श्रीवास्तव पनि यसबारे आफ्नो व्यक्तिगत अनुभव बताउँछिन्, ‘एउटी महिला खेलाडीलाई महिनावारी भएको बेला खेल खेल्नु पर्दा सेतो कपडामा दाग लाग्छ कि भन्ने डर हुन्छ ।’

उनी भन्छिन्, ‘धेरै महिला टेनिस खेलाडीहरुले महिनावारीको समयमा सेतो कपडामा खेल्दा असहज हुने कुरामा आवाज उठाउँछन् । माेनिकाकाे तर्क एकदम सही छ, हामीले सोध्नै पर्ने प्रश्न के हो भने कोर्टमा खेल्ने महिला खेलाडीको आरामभन्दा परम्परा ठूलो हुन्छ ?’

विम्बल्डनमा खेलाडीले जुत्ता, मोजा, टोपी, अन्डरगार्मेन्टसमेत सेतै लगाउनु पर्ने नियम छ ।  टेनिसमात्रै होइन, ब्याडमिन्टन खेल्ने महिला खेलाडीहरु पनि खेलको समयमा महिनावारी नहोस् भनेर औषधि खाने गरेको बताउँछन् ।

बेलायतकी हैदर वाटसन मिश्रित वर्गमा विम्बलडनकी पूर्वच्याम्पियन हुन् । बिबिसी स्पोट्ससँगको कुराकानीमा उनले भनिन्, ‘महिनावारीको समयमा सेतो लुगा लगाउनु पर्ने अवस्थाको बारेमा महिला खेलाडीहरु आपसमा कुरा गर्छन् तर मिडिया, प्रशिक्षकसँग कुरा गर्न सक्दैनन् । महिनावारीबाट बच्नका लागि मैले एकपटक विम्बल्डनमा महिनावारी नहोस् भनेर चक्की खान्छु भन्ने सोचेँकी थिएँ ।’

विम्बल्डन सन् १८७७ बाट सुरु भएको हो । सुरुवातमा महिलालाई यसमा सहभागी हुन अनुमति दिइएको थिएन । सन् १८८४ देखि मात्रै महिलाको सिंगल म्याच सुरु भएको हो । म्याड वाट्सन विम्बल्डनको पहिलो महिला च्याम्पियन हुन् । पछि सन् १९१३ देखि महिला डबल्स र मिक्स्ड डबल्सको सुरुवात भएको थियो ।

सेतो कपडा र महिनावारीमा लाग्ने दागको डरमात्रै मुद्दा होइन, महिला खेलाडीसँग सम्बन्धित अन्य मुद्दामा पनि बहस भइरहेको छ ।

विम्बल्डनजस्ता कुनै पनि खेलकुद प्रतियोगितामा खेलका क्रममा ट्वाइलेट ब्रेक लिनु सामान्य कुरा हो । तर धेरै महिला खेलाडीले पुरुष र महिलाका लागि एउटै नियम हुनाले पनि उनीहरुको प्रदर्शनमा असर पर्ने गरेको बताउँछन् ।

धेरै विशेषज्ञहरु पुरुष वा महिला खेलाडीलाई टेनिस ग्रान्ड स्लाम खेलहरुमा ट्वाइलेट ब्रेक घटाउनु पर्ने विश्वास गर्छन् । यो ब्रेकलाई खेलाडीहरुले आफ्ना लागि अतिरिक्त समय प्राप्त गर्न एक चालका रुपमा प्रयोग गर्छन् ।

नियमअनुसार, खेलका क्रममा महिला खेलाडीले प्याड वा कपडा परिवर्तन गर्न आवश्यक परेमा तीन मिनेट वा पाँच मिनेटसम्म शौचालय ब्रेक लिन एक मात्र मौका दिइन्छ । ग्राण्डस्लामको नियम अनुसार महिला खेलाडीले धेरै समय लिएभने सजायसमेत हुन सक्छ ।

तर टेनिस खेलाडी तारुकाले यसलाई फरक किसिमले तर्क गर्छिन्, ‘मानौं महिला खेलाडी आफ्नो महिनावारीको पहिलो दिनमा छिन् र उनले खेल खेलिरहेकी छिन् । ट्वाइलेट ब्रेक सिमित भएका कारण ती खेलाडीले आफ्नो सेनेटरी प्याड परिवर्तन गर्न पुरै सेट सकिने समय कुर्नुपर्छ । त्यसैले पुरुष खेलाडी र महिला खेलाडीलाई एकै किसिमको नियममा समेट्नु हुँदैन ।’

हालै खेलसँग सम्बन्धित कम्पनीहरु यस मुद्दामा काम गरिरहेका छन् । एडिडासको साइटमा खेलाडीका लागि पिरियड–प्रुफ कपडा उपलब्ध छन् । साइटमा लेखिएको जानकारी अनुसार यस्ता कपडामा चुहावट नहोस भनेर रगत सोस्ने लेयर, लिकप्रुफ मेम्ब्रेन प्रयोग गरिन्छ । एडिडासले महिलाहरुको विशेष आवश्यकतालाइ ध्यानमा राखेर उत्पादनहरु बनाउने बताएको छ ।

विम्बल्डन के भन्छ ?

विम्बल्डनको बारेमा कुरा गर्दा, महिला खेलाडीहरूको समस्या धेरै छन् तर सबै खेलाडीहरू खुलेर कुरा गर्न सहज महसुस गर्दैनन् ।

समाजका धेरै वर्गहरूमा महिनावारीजस्ता मुद्दाहरू अझै छलफलको दायराभन्दा बाहिर छन् र उनीहरूलाई महिनावारीको बहाना बनाएको आरोप लाग्ने भएका कारण पनि बोल्दैनन् ।

सन् २०२० मा बिबिसीको महिला खेलकुद सर्वेक्षणका अनुसार ६० प्रतिशत खेलाडीले महिनावारीको समयमा आफ्नो प्रदर्शन प्रभावित भएको र ४० प्रतिशत खेलाडीले यसबारे आफ्ना प्रशिक्षकसँग कुरा नगरेको बताएका थिए ।

तर, विम्बल्डनले आफ्नो तर्फबाट एक विज्ञप्ति जारी गर्दै ‘हामीले महिला स्वास्थ्यलाई प्राथमिकता दिइएको सुनिश्चित गर्न चाहन्छौं, महिला खेलाडीहरूलाई उनीहरूको व्यक्तिगत आवश्यकताअनुसार सुविधा उपलब्ध गराइएको छ । विम्बल्डनमा खेल्ने खेलाडीहरूको स्वास्थ्यको ख्याल राख्ने र हेरचाह गर्दैछौं । हाम्रो लागि यो सबै महत्त्वपूर्ण छ ।’

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा टेनिस खेलिसकेकी तारुका श्रीवास्तवले सम्पूर्ण बहसलाई यसरी समेट्छिन्, ‘विम्बल्डनमा सेतो लुगा लगाउनु परम्पराको हिस्सा हो भनेर धेरैले तर्क गर्छन् । तर के परम्परा कोर्टमा खेल्दै गरेकी एक महिला खेलाडीको स्वास्थ्य, सहजता र आत्मविश्वास भन्दा ठूलो हो ?’