NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अर्जेन्टिना र ब्राजिलसँग नेपालीको खेलकोभन्दा तेलको साइनो ठूलो

११ महिनामा तेल आयातमै बाहिरियो १ खर्ब ११ अर्ब ८५ करोड

काठमाडौं । पछिल्लो समय रुस–युक्रेन युद्धको कारण खानेतेल, इन्धन, खाद्यान्नलगायतको वस्तुको मूल्य आकाशिएको अवस्था छ । तर यो तेलसँगको नेपाली साइनो आकाशभन्दा पनि धेरै टाढासम्म पुगेको छ । आयातमा निर्भर नेपालको अर्थतन्त्र हरेक वस्तुको मूल्य बढ्दै जाँदा यसले गम्भीर संकट निम्त्याउन सक्ने अर्थविद्हरुले बताउँदै आएका छन् । तर आयात रोकिने क्रम पछिल्ला वर्ष देखिएको छैन । बरु बढ्दो रहेको तथ्यांकले देखाउँछ ।

तेल आयातमा भने अनौठो र पत्यार नै नलाग्ने परिस्थिति छ । विश्व फुटबलमा नेपालीहरूले सबैभन्दा बढी पछ्याउने देश हुन् ल्याटिन अमेरिकी अर्जेन्टिना र ब्राजिल । यो देशको फुटबललाई लिएर वर्षौदेखि नेपालीमा अगाध स्नेह छ ।

यी दुई देशका अन्तर्राष्ट्रिय फुटबल, विश्वकप र कोपा अमेरिकाको खेललाई लाखौं नेपालीले पछ्याउने गरेका छन् । चार वर्षको अन्तरमा आउने यी र यस्ता प्रतियोगितामा अर्जेन्टिना र ब्राजिलको समर्थनलाई लिएर लाखौं नेपाली पक्ष र विपक्षमा लाग्छन् । यी दुई देशले आपसमा खेल्दा होस् कि अर्को देशसँग खेल्दा नै किन नहोस् नेपालीहरू जबर्जस्त समर्थक छन् ।

नेपालबाट १५ देखि १७ हजार किलोमिटर टाढा रहेका यी देशसँग नेपालको तेलको साइनो सबैभन्दा बढी छ । भन्सार विभागको तथ्यांक अनुसार भटमासको कच्चा तेलदेखि सूर्यमुखी तेलको आयात यी दुई देशबाट सबैभन्दा बढी हुने गरेको छ ।

समर्थकबीच रमाइलोको पक्षधरता हुने यस्तो खेलको चर्चा र साइनो भने केही समय मात्रै रहन्छ । तर यी दुई देशसँग प्रत्येकजसो नेपालीको साइनो छ । खेलभन्दा बढी यी दुईदेशसँग नेपालीको भान्सा पनि जोडिएको छ । नेपालबाट १५ देखि १७ हजार किलोमिटर टाढा रहेका यी देशसँग नेपालको तेलको साइनो सबैभन्दा बढी छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा भटमासको कच्चा तेलदेखि सूर्यमुखी तेलको आयात यी दुई देशबाट सबैभन्दा बढी हुने गरेको छ ।

आयातको तथ्यांक बढ्दै गएपछि सरकारले केही महिनायता निजी सवारीदेखि धेरै वस्तुका आयातमा कडाइ गरेको छ । तर नेपालमा खेती हुने भटमास, तोरीको उत्पादन बढाउनतर्फ सरकार लागेको देखिंदैन । बरु नेपालले तेल आयातमा भने खर्बौ रकम खर्च गरेको भन्सार विभागको तथ्यांक छ ।

विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्ष ७८/७९ को जेठ मसान्तसम्मको ११ महिनामा तेलजन्य वस्तुसहित कुल १ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ बराबरका ७१ करोड ३२ लाख ४ हजार २२२ लिटर लिटर कच्चा तेल आयात भएको छ ।

उक्त परिमाण बराबरको तेल आयात गर्दा नेपालले कुल १२ अर्ब ९४ करोड १ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ । उत्पादन बढाएर रोजगारी बढाउने र रकम विदेशिनबाट रोक्नुको सट्टा आयातमै रमाउने अवस्था नेपालको छ ।

५३ अर्बको भटमासको तेल

विभागका तथ्यांकअनुसार चालु आवको ११ महिनामा ५३ अर्ब ३२ करोड ८३ लाख २७ हजार रुपैयाँ बराबरको ३२ करोड ७ लाख ७० हजार ४ सय ६८ लिटर भटमासको कच्चा तेल आयात भएको छ । उक्त तेल आयात गर्दा सरकारले ५ अर्ब ४० करोड ४१ लाख ९४ हजार राजश्व संकलन गरेको छ ।

नेपालले अर्जेन्टिना, ब्राजिल, इजिप्टसहित १३ देशबाट भटमासको तेल आयात गर्ने गरेको पाएको छ । जसमा सबैभन्दा बढी अर्जेटिनाबाट ३५ अर्ब ४४ करोड ६७ लाख ५६ हजार रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।

त्यस्तै ब्राजिलबाट १० अर्ब ३६ करोड ५३ लाख १६ हजार, युक्रेनबाट ८८ करोड ४४ लाख ७७ हजार, इटालीबाट ५२ करोड ४२ लाख ९५ हजार रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।

३८ अर्बको पाम तेल, इन्डोनोसियाबाटै ३० अर्ब

भटमासको कच्चा तेलपछि नेपालले ३८ अर्ब ३९ करोड ६० लाख ९ हजार रुपैयाँ बराबरको २७ करोड ३६ लाख ३१ हजार २५८ लिटर कच्चा पाम तेल आयात गरेको छ । तथ्यांकअनुसार उक्त पाम तेल आयातबाट नेपालले ३ अर्ब ३५ करोड २० लाख १ हजार राजश्व उठाएको छ ।
इन्डोनोसिया, मलेसिया, फिलिपिन्स, भारतसहितबाट पाम तेल आयात हुने गरेको छ । विभागका अनुसार सबैभन्दा बढी पाम तेल इन्डोनोसियाबाट आयात भएको छ । ११ महिनाको अवधिमा उक्त मुलुकबाट पाम तेल आयातको लागि ३० अर्ब ५९ करोड २८ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ ।

भटमास र सूर्यमुखी ५० अर्ब हाराहारीको तेल नेपालले अर्जेन्टिनाबाट मात्रै ल्याउने गरेको छ ।

त्यस्तै ७ अर्ब ५५ करोड २६ लाख ७६ हजार रुपैयाँकमो पाम तेल मलेसियाबाट आयात भएको छ । फिलिपिन्सबाट १५ करोड ३० लाख ४१ हजार र भारतबाट नेपालले ९ करोड ७४ लाख ४९ हजारको पाम तेल आयात गरेको विभागको तथ्यांक छ ।

१८ अर्ब २३ करोडको सूर्यमुखी तेल

नेपालमा धेरै आयात हुने तेलमा सूर्यमूखी पनि पर्दछ । विभागका अनुसार चालु आवको ११ महिनाको अवधिमा सरकारले १८ अर्ब २२ करोड ६४ लाख २३ हजार रुपैयाँ बरारको १० करोड ८५ लाख १० हजार ४३२ लिटर कच्चा सूर्यमुखीे तेल आयात गरको छ । उक्त मूल्य बराबरको तेल आयात गर्दा सरकारले ३ अर्ब ६५ करोड ३० लाख ३४ हजार राजश्व संकलन गरेको छ ।

तथ्यांकअनुसार नेपालले अर्जेटिना, युक्रेन, भारत, मलेसिया, स्पेन, टर्कीलगायतका देशबाट सूर्यमुखी तेल आयात गरेको छ । सोही अवधिमा सबैभन्दा धेरै अर्जेन्टिनाबाट १४ अर्ब ७१ करोड ४२ लाख ६७ हजार रुपैयाँ बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ । भटमास र सूर्यमुखी ५० अर्ब हाराहारीको तेल नेपालले अर्जेन्टिनाबाट मात्रै ल्याउने गरेको छ ।

त्यस्तै रुसबाट २ अर्ब ५९ करोड १८ लाख २४ हजार, भारतबाट ५ करोड ४७ लाख ९५ हजार, मलेसियाबाट २५ करोड ७८ लाख ८१ हजार रुपैयाँको तेल आयात भएको छ ।

३ अर्ब ८८ करोडको तोरीको दाना आयात

३ अर्ब ८८ करोड ६१ लाख ६३ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ३ हजार ६९६ लिटर तोरीको दाना आयात भएको छ । उक्त तोरी आयातबाट सरकारले ७५ करोड २० लाख ५३ हजार राजश्व उठाएको छ ।

तोरी सबैभन्दा बढी भारतबाट आयात भएको छ । भारतबाट ३ अर्ब ८८ करोड ३१ लाख तोरी आयात भएको छ । त्यसपछि रसियाबाट ७५ करोड ३० लाख ९५ हजार रुपैयाँको आयात भएको छ । कजाकस्तानबाट भने २ करोड ३२ लाख १५ हजारको तोरी आयात भएको पाइएको छ ।

६ करोडको जैतुनको तेल

नेपालले आयात गर्ने अर्को तेल जैतुन पनि पर्दछ । ११ महिनाको तथ्यांकअनुसार ६ करोड २ लाख ७० हजार रुपैयाँबराबरकोे १ लाख ३१ हजार ७ सय ८९ लिटर जैतुन तेल आयात भएको पाइएको छ । यसबाट सरकारले १ करोड ४६ लाख ४७ हजार राजश्व संकलन गरेको छ ।
नेपालले साइप्रस, भारत, इजरायल, पोर्चुगल, स्पेन, टर्कीजस्ता देशबाट जैतुनको तेल आयात गर्दै आएको छ । त्यस्तै सोही अवधिमा ४ करोड ३३ लाख ९८ हजार रुपैयाँको कच्चा नरिवलको तेल आयात भएको छ । सरकारले नरिवलको तेल आयातबाट १ करोड ५ लाख ९३ हजार राजश्व उठाएको छ । नरिवलको तेल भारत, मलेसिया,थाइल्याण्डलगायतका देशबाट आयात भएको पाइएको छ ।

नेपालले २ करोड २९ लाख २३ हजार रुपैयाँ बराबरको मकैको तेलसमेत आयात गरेको पाइएको छ । जसबाट सरकारले ६८ लाख ६५ हजार राजश्व संकलन गरेको छ । उक्त मकैको तेल सबैभन्दा बढी भारतबाट १ करोड ९० लाख ९२ हजार र मलेसियाबाट ३७ लाख ८३ हजार र टर्कीबाट ३७ लाख ८३ हजार रुपैयाँको आयात भएको छ ।

यीबाहेक १ करोड १७ लाख रुपैयाँको तीलको तेल आयात भएको छ । जसबाट सरकारले २८ लाख ४४ हजार राजश्व उठाएको छ । विभागका अनुसार सबैभन्दा बढी चीनबाट १ करोड ६ लाख २८ हजार र भारतबाट ९ लाख ८६ हजार रुपैयाँ तीलको तेल आयात भएको पाइएको छ ।
त्यस्तै २ लाख ५ हजार रुपैयाँको बदामको तेल र १ लाख २३ हजार रुपैयाँको आलसको तेलसमेत आयात भएको छ ।

निर्यातमा तेलको ठूलो हिस्सा

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा धेरै निर्यातको हिस्सा खाने तेलकै छ । नेपालले कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गरेर पुनः विदेश निर्यात गर्ने गर्छ । नेपालको निर्यातमा तेलको हिस्सा ३० प्रतिशत हाराहारी छ । कच्चा पदार्थ ल्याएर ठूलो भोल्युममा निर्यात हुने वस्तुमा तेल पर्ने गरेको छ ।

विभागको तथ्यांकअनुसार नेपालले छिमेकी मुलुक भारतमा खाने तेल निर्यात गर्ने गर्छ । विभागको चालु आवको ११ महिनाको तथ्यांकअनुसार भटमास, पाम र सूर्यमुखीसहित कुल ९० अर्ब १६ करोड ४८ लाख ३८ हजार रुपैयाँको तेल निर्यात गरेको छ ।

४६ अर्बको भटमासको तेल

विभागका अनुसार ११ महिनामा ४६ अर्ब ५८ करोड ७० लाख ४८ हजार रुपैयाँ बराबरको १९ करोड २ लाख ३८ हजार ६३२ लिटर भटमासको तेल भारतमा निर्यात गरेको छ ।

३९ अर्बको पाम तेल

भारतमा धेरै परिमाणमा निर्यात हुने तेल पाम तेल पनि हो । चालु आवको ११ महिनाको तथ्यांकअनुसार नेपालले ३९ अर्ब ११ करोड २७ लाख १४ हजार रुपैयाँ बराबरको १८ करोड ९५ लाख ६१ हजार ४४६ लिटर पाम तेल निर्यात गरेको छ ।

४ अर्बको सूर्यमुखीको तेल

खाने तेलअन्र्तगतको अर्को मुख्य सूर्यमुखीको तेल निर्यात गरी सरकारले ४ अर्ब ४६ करोड ५० लाख ७६ हजार आम्दानी गरेको छ । जसमा ८९ लाख २८ हजारको कच्च्चा तेल र ४ अर्ब ४५ करोड ६१ लाख ४८ हजारको दाना निर्यात भएको विभागले जनाएको छ ।

ठूलो परिणाममा तेल, कच्चा पदार्थ पनि आयात गर्ने र निर्यात पनि उत्तिकै गर्दा नेपालमा कति रोजगारी वृद्धि हुने, राजस्वले सरकारलाई कति फाइदा हुने भनेर प्रभावकारी अध्ययन अनुसन्धान भएको पाइएको छैन ।

उत्पादन हुने वस्तु पनि विदेशबाट अत्याधिक आयात हुँदा उठेको राजस्व, रोजगारी वृद्धि जस्ता पक्षमा कति फाइदा पुग्छ भन्नेतर्फ पर्याप्त अध्ययन र अनुसन्धान पर्याप्त हुनुपर्ने देखिएको छ । राजस्व र रोजगारी वृद्धि भन्दा उद्योगीले अत्याधिक मुनाफामात्रै उठाएका छन् कि भन्नेतर्फ पनि धेरै अध्ययन नभएको पाइन्छ ।

एघार महिनामा नेपालीहरूले एक अर्बकाे काजु खाए