NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मन्त्रीले राजीनामा दिएपछि काममा फर्किए अर्थसचिव मरासिनी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा दिएसँगै मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।

अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म काममा नफर्किने भन्दै उनी अनिश्चितकालका लागि बिदामा बसेका थिए । अर्थसचिव मरासिनीमाथि पनि मिलेमतोमा फुटेज हटाएको आरोप छ । अझै अहिलेका अवस्थामा बिदामा बस्न जानु नै गैर जिम्मेवार रहेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।

‘अर्थ मन्त्रालयमा अहिले कामको चाप यति धेरै छ कि अनिश्चितकालका लागि त के सचिव ज्यू हिजो पनि त्यसरी बिदामा बस्न हुने थिएन,’ मन्त्रालयका एक अधिकारीले भने ।

मन्त्रीले राजीनामा दिएसँगै सचिव मरासिनी आजबाट नियमित काममा फर्किएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई प्रवेश दिएर करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले राजीनामा दिएका हुन् ।

उक्त दिनको सिसिटिभी फुटेज माग गर्दा अर्थ मन्त्रालयले फुटेज मेटिएको आधिकारिक जवाफ दिएपछि मन्त्री शर्मा थप विवादमा तानिएका थिए ।

उनले आफू हजारौं छानविनका लागि तयार रहेका बताउँदै संसदबाटै राजीनामा घोषणा गरेका थिए । बुधबार उनीमाथि छानविन गर्नका लागि उच्चस्तरीय संसदीय समिति गठन भएको थियो ।