NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जापानका पूर्वप्रधानमन्त्री आबेको राजनीतिक यात्रा

काठमाडौैं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा माथिल्लाे सदनकाे निर्वाचनका लागि सडकमा भाषण दिइरहेका बेला स्थानीय समयअनुसार बिहान ११ : ३० बजे गोली प्रहार भयो । चुनावी अभियानका क्रममा नारा सहरमा भाषण गरिरहेका उनीमाथि एक व्यक्तिले गोली पछाडिबाट गोली प्रहार गरेका थिए ।

लिबरल डेमोक्रेटिक पार्टीका नेता आबेलाई गोली लागेपछि हृदयघात भएको र अत्यधिक आन्तरिक रक्तस्राव भएको थियो । गोली लागेर ढलेका आबेलाई तुरुन्तै स्थानीय अस्पतालमा पुर्याइएपछि उनी बाँच्न सकेनन् ।

प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । शंकास्पद आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ । जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।

शिन्जो आबे जापानका पूर्व विदेशमन्त्री शिन्तारो आबेका छोरा हुन् । उनलाई जापानको राजनीतिमा राजकुमार भनिन्थ्यो । उनका हजुरबुवा नोबुसुके किशी जापानका प्रधानमन्त्री थिए । उनी जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता हुन् ।

आबे पहिलोपटक सन् १९९३ मा सांसद बनेका थिए । सन् २००५ मा उनलाई प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्मा मन्त्री बनाइएको थियो । त्यतिबेला उनलाई मुख्य क्याबिनेट सचिवजस्तो महत्वपूर्ण भूमिका दिइएको थियो ।

सन् २००६ मा उनी दोस्रो विश्वयुद्धपछि जापानको सबैभन्दा कान्छो प्रधानमन्त्री बने । तर एकपछि अर्को काण्डले उनको सरकारलाई अप्ठ्यारोमा परेको थियो । यसपछि सन् २००७ को जुलाईमा उनको पार्टी लिबरल डेमोक्र्याटिक पार्टीले माथिल्लो सदनमा निकै दुःख खेप्नुपरेको थियो र सोही वर्षको सेप्टेम्बरमा उनले बिरामी भएका कारण आफ्नो पद छोडे । सन् २०१२ मा, आबे पुनः प्रधानमन्त्री बने ।

त्यसपछि सन् २०१४ र २०१७ मा उनी पुनः प्रधानमन्त्री पदका लागि निर्वाचित भए । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेको कीर्तिमान उनको नाममा छ ।

प्रधानमन्त्रीको कुर्सीमा रहँदा शिन्जो आबेको लोकप्रियतामा धेरै उतारचढाव आए । तर लिबरल डेमोक्र्याटिक पार्टीमा आबेको बलियो पकड भएका कारण उनको सत्तालाई चुनौती दिने कोही थिएन ।

यति मात्र होइन, पार्टीले आफ्नो संविधान संशोधन गरी उनलाई तेस्रो कार्यकालको पार्टी अध्यक्षको अवसर पनि दिएको थियो ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेको कीर्तिमान उनको नाममा छ । आबेको जीवनको सबैभन्दा ठूलो लक्ष्य जापानको सैन्य शक्ति पुनर्स्थापित गर्नु थियो । शिन्जो आबेले अवलम्बन गरेको आर्थिक नीतिलाई विश्वले ‘आबेनोमिक्स’को नाम दिएको थियो । आबेले स्वास्थ्यका कारणले गर्दा २८ अगस्ट २०२० मा राजीनामाको घोषणा गरेका थिए ।

शिन्जो आबे रक्षा र विदेश मामिलाहरूमा आक्रामक अडानका लागि परिचित थिए । दोस्रो विश्वयुद्धपछि लागू भएको जापानको शान्तिवादी संविधान संशोधन होस् भन्ने आबे चाहन्थे । उनको राष्ट्रवादी विचारहरूले प्रायः चीन र दक्षिण कोरियासँग जापानको सम्बन्धलाई तनावपूर्ण बनाएको थियो ।

आबे जापानको सैन्य शक्तिलाई पुनर्जीवित गर्ने प्रयासका लागि मात्र नभई अर्थतन्त्रमा आफ्नो छुट्टै दर्शनका लागि पनि परिचित छन् । तर जापानी अर्थतन्त्रलाई सम्हाल्ने उनको प्रयास सन् २०२० मा असफल भएको देखिन्छ । जापान सन् २०१५ पछि पहिलोपटक आर्थिक मन्दीमा प्रवेश गरेको थियो ।

यसपछि सारा विश्व कोभिडको चपेटामा पर्यो । आबेलाई कोभिडलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको भन्दै उनको आलोचना पनि भएको थियो ।

कोभिडबाट बच्न जापान सरकारले देशभर फेस मास्क वितरण गरेको थियो, त्यसलाई ‘आबेनोमास्क’ भनियो । मास्कको सानो आकार र जनतामा पुग्न ढिलाइ भएको कारण यसको पनि धेरै आलोचना भएको थियो ।