NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जापानी पूर्वप्रधानमन्त्रीको हत्याबारे के भने विश्व नेताहरुले ?

काठमाडौं । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएपछि विश्वका नेताहरुले दुख व्यक्त गरिरहेका छन् ।

जापानी राजनीतिमा अहिलसम्म पनि प्रभावशाली रहेका नेता आबेमाथि किन आक्रमण भयो भन्ने बारे अझै अनुसन्धानकै क्रममा छ । तर प्रहरीले संदिग्धलाई घटनास्थलबाटै तत्कालै नियन्त्रणमा लिएको छ ।

जापानको अस्थिर सरकार निर्माणको क्रमलाई तोडेर लामो समयसम्म स्थायित्व दिएका शक्तिशाली नेताको दुखद निधनमा विश्वभरका नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

रुसका नेता भ्लादिमिर पुटिनले आबेको परिवारलाई समवेदना प्रकट गर्न सम्पर्क गरेको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । पुटिनले समवेदना दिँदै भने ‘आबे एक उत्कृष्ट राजनेता भएको र उनले दुई देशबीच असल सम्बन्ध विकासका लागि काम गरेका थिए । ‘यो अपूरणीय क्षतिको सामना गर्न आबे परिवारका लागि साहसको कामना गर्छु’, पुटिनले म्यासेजिङ एप टेलिग्राममा भनेका छन् ।

आबेमाथि गोली प्रहार गरिएकाे बन्दुक

वर्तमान जापानी प्रधानमन्त्री फुमियो किशिदाले शिन्जो आबेमाथि गोली प्रहारको निन्दा गर्दै यसलाई क्रूरता र घृणित कार्य भनेका छन् । किशिदाले भावुक हुँदै भने, ‘जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेले महान नेतृत्वका साथ देश सम्हाले ।’ उनले आफ्नो शब्द नै हराएको पनि सञ्चारमाध्यमसँग बताएका छन् ।

आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा माथिल्लाे सदनकाे निर्वाचनका लागि सडकमा भाषण दिइरहेका बेला स्थानीय समयअनुसार बिहान ११ : ३० बजे गोली प्रहार भएकाे थियो ।

‘म सिन्जो आबेले छोडेको विरासतको ठूलो सम्मान गर्छु र म उहाँप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ किशिदाले भने । उनले आफूहरु दुई जना नजिकको साथी भएको र धेरै समय साथमा बिताएको पनि सम्झिए ।

आबेको निधनप्रति दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आबेलाई गोली हानेको घटनालाई ‘अपराधको अक्षम्य कार्य’ भन्दै जापानप्रति शोक व्यक्त गरेका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले पनि आफू ‘अत्यन्तै दुःखी र स्तब्ध भएको’ बताए र यो कठिन अवस्थामा जापानको साथमा उभिने पनि बताए ।

त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि आबेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस अन्धकार र दुखद घडीमा बेलायत जापानको साथमा रहेको प्रतिक्रिया दिएका छन् । उनले अविश्वसनीय दुखद खबर भएकाे भन्दै यसबारे ट्वीट गरे ।

रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले आबेलाई लोकतन्त्र र बहुपक्षीयताको बलियो रक्षक र एक सच्चा मित्र रहेको भनेका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू मुख्यमन्त्री हुँदादेखि नै आबेसँग नजिक भएको सम्झिँदै देशभर एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन् । साथै मोदीले आबेलाई ‘उत्कृष्ट विश्व राजनीतिज्ञ, नेता र एक उल्लेखनीय प्रशासक’ भएको बताए ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आबेलाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गरेका छन्, उनले ‘यो जघन्य आक्रमण गर्नेको निन्दा गर्दछु’ पनि भनेका छन् ।

जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई जुलाई ८ मा गोली हानिएको पश्चिमी जापानको नारा सहरको दृश्य । 

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबोट, जसले आबेसँग नजिकबाट काम गरेका थिए, उनले जापानको ‘युद्धपछिको सबैभन्दा महत्त्वपूर्ण नेता’ को रूपमा वर्णन गरे । आबेको नेतृत्वमा जापानले पश्चिमी प्रशान्त क्षेत्रमा प्रजातन्त्रिक मुलुकका रुपमा उपयुक्त स्थान हासिल गरेको भन्दै ट्वीट गरेका छन् । एबोटले थपे, ‘यो जापान, अष्ट्रेलिया र लोकतन्त्रमा एकसाथ उभिएको संसारको लागि भयानक क्षति हो ।’

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो जीवन देशका लागि समर्पण गरेका र विश्वमा सुव्यवस्था कायमका लागि योगदान पुर्याएका एक महान प्रधानमन्त्री जापानले गुमाएको भन्दै दुख व्यक्त गरेका छन् ।

नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले प्रजातन्त्रको रक्षक र वर्षौंदेखि साथी र सहकर्मी रहेका शिन्जो आबेको जघन्य हत्याबाट गहिरो दुःख लागेको बताए । ‘यस दुःखद घडीमा उनको परिवार, प्रधानमन्त्री फुमियो किशिदा र नेटोको साझेदार जापानका जनताप्रति मेरो गहिरो समवेदना छ’ उनले भनेका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आबेको नेतृत्वमा जापान एशियामा अष्ट्रेलियाको सबैभन्दा समान विचारधारा साझेदारहरू मध्ये एकको रूपमा उभिएको र यो विरासत आज पनि कायम रहेको भन्दै आबेको अन्तिम समयमा उनलाई सम्झिए । विश्व कुटनीतिमा अब्बल रहेका आबेले स्वतन्त्र र खुला क्षेत्रको दर्शनलाई अगाडि बढाएकाे उनकाे भनाइ छ ।

पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले ‘शिन्जो आबेको हत्याको खबरले म स्तब्ध छु । हामी हाम्रा जापानी साथीका परिवारसँगै छौं, जो पोल्याण्डप्रति सधैं दयालु थिए । उनको आत्माले शान्ति पाओस’ भनेका छन् ।

त्यस्तै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आबे आफ्नो अत्यन्तै नजिकको साथी भएको भन्दै सम्झिएका छन् । आफ्नो बेस्पोक प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले आबेलाई एक महान नेता र आफ्नो साँचो मित्र भएको भन्दै दुख व्यक्त गरेका छन् । उनले आबेमाथि गोली प्रहार भएदेखि उनको निधन हुँदासम्मको अवस्थालाई अत्यन्तै दुखद र हृदयविदारक घटना भने ।

भाषणका क्रममा आबे र पछाडि देखिएका संदिग्ध 

जापानस्थित चिनियाँ दूतावासले गोली हानेर आबेको हत्या भएको प्रति दुख व्यक्त गरेको छ । आबेले चीन र जापानबीचको सम्बन्ध सुधारमा पुर्याएको योगदान अतुलनीय भएको दूतावासको भनाइ छ । साथै अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि मारिएका प्रधानमन्त्री आबेलाई दुई सहयोगीबीचको सम्बन्ध सुदृढ गर्ने दूरदर्शी नेताका रूपमा स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

माथिल्लाे सदनकाे निर्वाचनका लागि सडकमा भाषण दिइरहेका बेला आबेमाथि शुक्रबार देशको पश्चिमी भागकाे सहर नारामा स्थानीय समयअनुसार बिहान ११ : ३० बजे गोली प्रहार भएकाे थियो । चुनावी अभियानका क्रममा नारा सहरमा भाषण गरिरहेका उनीमाथि एक व्यक्तिले गोली पछाडिबाट गोली प्रहार गरेका थिए ।

लिबरल डेमोक्रेटिक पार्टीका नेता आबेलाई गोली लागेपछि हृदयघात भएको र अत्यधिक आन्तरिक रक्तस्राव भएको थियो । गोली लागेर ढलेका आबेलाई तुरुन्तै स्थानीय अस्पताल पुर्याइए पनि उनी बाँच्न सकेनन् ।

गाेली प्रहारपछि संदिग्धलाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मी

जापानका पूर्वप्रधानमन्त्री आबेको राजनीतिक यात्रा

ताजा अपडेट

नेपालवाच विशेष