NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

श्रीलंकाका राष्ट्रपति राजपक्षद्वारा राजीनामा दिने घोषणा

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटावय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन् । प्रदर्शनकारीहरूले निजी निवासभित्र प्रवेश गरेर आगजनी गरेपछि उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

श्रीलंकाली संसदका सभामुखले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि राष्ट्रपति गोटावयले राजीनामा दिन लागेको जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गोटावयले आगामी बुधबार पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यसअघि नै त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंगले राजीनामा दिन सहमत भइसकेका छन् ।

श्रीलंकाले ७० वर्षको इतिहासमै पहिलोपटक चरम आर्थिक संकट झेलेको छ । त्यहाँका नागरिकले खाद्यान्न, इन्धन र औषधिको चरम अभाव सामना गरिरहेका छन् ।

चरम् आर्थिक संकटबाट गुज्रिएपछि श्रीलंकामा राजनीतिक नेतृत्वको विरोधमा केही महिनादेखि लगातार प्रदर्शन भइरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्री पदबाट हट्नुपर्ने उनीहरूको मुख्य माग छ । शनिबार चर्किएको प्रदर्शनमा पनि उनीहरूले सोही माग दोहोर्याएका थिए ।

राष्ट्रपति राजपक्षले प्रदर्शन चर्किएपछि सरकारी निवास छाडेका छन् । तर उनी अहिले कहाँ छन् भन्ने खुलेको छैन ।

राष्ट्रपतिले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदर्शनकारीमाझ खुसीयाली छाएको छ । बिबिसीका अनुसार, उनीहरूले सडकमा आतसबाजी गरिरहेका छन् ।