NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बाजुराको बूढीगंगामा एमालेको सानदार जित, मेयरमा बानियाँ र उपमेयरमा खड्का विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकामा एमालेले सानदार जित निकालेको छ ।

मूख्य निर्वाचन कार्यलय बाजुराले आइतबार सार्वजनिक गरेको आन्तिम मतपरिणाम अनुसार मेयर–उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका रामबहादुर बानियाँ ४ हजार ७७७ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रंगबहादुर खातीले ३ हजार ७७४ मत पाएका छन् ।

त्यस्तै उपमेरमा एमालेका मायाकुमारी खड्का ४ हजार ७२७ मत ल्याइ विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी रीता शाहीले ३ हजार ७५५ मत पाएकी छिन् । एमालेका विजयी उम्मेदवार बानियाँ र खड्का दुवै जना २०७४ मा पराजित अनुहार हुन् ।

कांग्रेसका दुवै उम्मेदवार नयाँ अनुहार हुन् । गत निर्वाचमा मेयर र उपमेयर दुवैमा पराजय भोगेको एमालेले योपटक मेयर र उपमेयरसहित ७ वटा वडामा सान्दार जित निकालेर कांग्रेसलाई नमिठो हार चखाएको छ । योसहित एमालेले २०६ स्थानीय तह प्रमुख÷अध्यक्ष जितेको छ ।
१० वटा वडा रहेको यस नगरपालिकामा १, २, ३, ५,६, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका छन् । त्यस्तै ४, ७ र ८ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेले धाँधली भएको आरोप लगाएपछि निर्वाचन आयोगले मतदान प्रक्रिया स्थगित गरेको थियो ।

सर्वदलीय सहमतिको आधारमा असार २३ गते कडा सुरक्षा घेराबीच मतदान भएको थियो । मतदान प्रक्रिया चलिरहँदा सामान्य विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार ११७ मत खसेको थियो ।