NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गगन र विश्वप्रकाश : त्यो प्रतिस्पर्धा, यो सहकार्य

काठमाडौं । गगन थापा र विश्वप्रकाश शर्माले अलग–अलग गुटबाट कांग्रेसको महामन्त्रीमा जितेका युवा नेता हुन् । गगनले डा. शेखर कोइराला र विश्वप्रकाशले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा जितेका थिए र

महामन्त्रीका प्रत्याशी हुँदैगर्दा उनीहरूबीच सम्बन्ध सौहार्द नभएको हल्ला बाहिरिएको थियो । तर, महामन्त्रीमा जितेसँगै उनीहरूबीचको सम्बन्ध झाँगिएको छ । सभापति शेरबहादुर देउवाकोमा प्रस्ताव लाने कुरामा उनीहरूबीच सहमति हुने गरेको छ ।

देउवालाई दबाब दिने हरेक कुरामा गगन र विश्वप्रकाशको कुरा मिल्ने गरेको छ । विद्यार्थी राजनीतिसँगै उमेरमा पनि गगनभन्दा विश्वप्रकाश सिनियर हुन् । तर, महामन्त्रीमा धेरै मत ल्याएर गगनले जिते । यसले गर्दा पार्टीको विधानअनुसार गगन स्वतः सिनियर महामन्त्री भए । तर, गगन लचक भएर आलो–पालो सिनियर हुनेमा सहमत भए । यसपछि उनीहरूबीचको सम्बन्ध झनै झाँगिएको बताइन्छ ।

यसको पुष्टि विश्वप्रकाशले हालै गरेका छन् । गगनले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने उनले बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका विश्वप्रकाशले कांग्रेसनिकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा भने, ‘सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक हो । ५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हुन्छ । सिनियर-जुनियरको कुरा हामी बीचमा हुँदैन ।’

हालैमात्र गगनले एउटा अन्तर्वार्तामा निर्वाचनपछि प्रधानमन्त्रीमा दाबी गर्ने बताएका थिए । अब १० वर्षमात्र राजनीति गर्ने आफ्नो उमेर भएकाले यही बीचको प्रधानमन्त्री बन्ने प्रयास गर्ने उनले स्पष्ट पारेका थिए ।