NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काभ्रेमा थप पाँच जनामा कोरोना सङ्क्रमण

काभ्रे । जिल्लामा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो ।

“काभ्रेमा कोरोनाको लहर बढ्न सुरुआत गरेको अनुमान गर्न सकिन्छ” कार्यालय प्रमुख डा. पुरुषोत्तम सेडाइँले भने । उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच सङ्क्रमितको अवस्था सामान्यनै रहेको जनाइएको छ ।

जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो । गत फागुन मध्यमा तेस्रो लहरको यसको सङ्क्रमणदर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ । तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरका बीच एक पुरुषको मृत्यु भएको थियो । सङ्क्रमितमध्ये नौ हजार ३९४ पुरुष तथा आठ हजार १६६ महिला हुन् ।