NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडाैं । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।

सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताइन् । सांसद विष्णु शर्माले सरकारले मंसिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताए ।

सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पु-याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताए । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको आएको बताए ।

सांसद सरलाकुमारी यादवले सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताइन् । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताइन् ।

सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गरिन् । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भूभागलाई कोसी कटानले क्षत्विक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताइन् । सांसद लक्ष्मीकुमारी चौधरीले बलत्कारका घटनामा सत्यतथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिइन् ।

सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गका पुल २०६८ सालमा ठेक्का भएकामा अझै ५० प्रतिशत नसकिएकाले निर्माण कम्पनीलाई कारवाहीको माग गरे । सांसद लीलादेवी सिटौला (गौतम०ले नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने, केन्द्रमा पाँच/छ मन्त्रालय राख्नुपर्ने र विकासको पुँजी विकेन्द्रीकृत गर्नुपर्ने बताए ।

सांसद विद्या भट्टराईले प्राध्यापक र सहप्राध्यापकको अन्तवार्ता एक वर्षसम्म नहुँदा शिक्षामा सुधार नआउने उल्लेख गरिन् । सांसद बीनाकुमारी श्रेष्ठले दक्षिणकाली क्षेत्रमा जथाभावी उत्खनन भएकाले पहिरोको जोखिम रहेकाले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरिन् । सांसद वृन्दा पाण्डेले काठमाडौँलगायतका सहरी क्षेत्रमा फोहर बढिरहेको र अशुद्ध पानीका कारण हैजा फैलिरहेको बताए ।

सांसद विशाल भट्टराईले बूढीगङ्गामा पहिले विनाकारण निर्वाचन राकिएको र अहिले एमालेकै उम्मेदवार विजयी भएको बताए । सांसद शक्तिबहादुर बस्नेतले शिक्षामा राज्यको लगानी कम भएको र भएको लगानी पनि सदुप्रयोग नभएको औँल्याए । सांसद डा. शिवमाया तुम्बाहाम्फेले राष्ट्रियसभामा सर्वोच्च विचाराधीन मुद्दामा छलफल भइरहेकाले त्यसो हुनु नहुने उल्लेख गरे ।

सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक सङ्कटग्रस्त घोषणा भए पनि सरकारले नागरिकलाई त्यसबाट मुक्त बनाउन नसकेको बताए । सांसद सत्य पहाडीले डोल्पाको दुनै पहिराका कारण जोखिममा रहेको र त्यसको व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उल्लेख गरे । सांसद सरिताकुमारी गिरी कानुनको कारवाही हुनुपर्नेमा जोड दिए ।

सांसद सरवत आरा खानमले सरकारले इदमा बिदा दिएर मुस्लिम धर्मावलम्बीलाई देशप्रति अपनत्वको महसुस गराएको बताए । सांसद सीताराम महतोले इटहरी उपमहानगरपालिकामा शिक्षा र स्वास्थ्यमा सुधारको आवश्यकता औँल्याए । सांसद डा. सूर्यप्रसाद पाठकले जापानका लोकप्रिय नेता गुमाउँदा शोकमा डुबेको बताए । सांसद हिरा गुरुङले भारत र चीनमा कोभिड सङ्क्रमण बढिरहेकाले सरकारको तयारी अघि बढाउनुपर्ने बताए ।