NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एमालेले ‘फाइभ थाउजेण्ड बाई फाइभ थाउजेण्ड’ अभियानमार्फत डेढ अर्ब उठाउँदै

काठमाडौं । नेकपा एमालेले पार्टीको आर्थिक कोष व्यवस्थापन गर्न ‘फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड’ अभियान सुरू गरेको छ ।
केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागले पार्टीको आत्मनिर्भरताका लागि शुरू गरेको यो अभियानमार्फत पाँच वर्षमा केन्द्रीय कोषमा एमालेले डेढ अर्ब रकम जम्मा गर्दैछ ।

उच्च आय भएका ५ हजार सदस्यले कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले रकम जम्मा गर्नुपर्ने केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।उनका अनुसार अभियानमा सहभागी हुन चाहनेहरूले मोवाइल बैंकिङ तथा इ–सेवाबाट क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् ।

‘आर्थिक कोष व्यवस्थापनका लागि उच्च आय भएका पाँच हजार सदस्य, शुभचिन्तकहरूले महिनाको पाँच हजार पाँच वर्षसम्म रकम भुक्तानी गर्नुपर्नेछ । यस अभियानमा भर्खर सुरू भएकाले अहिलेसम्म कोही पनि जोडिनुभएको छैन’, अधिकारीले भने, ‘यो अभियानलाई थप व्यवस्थित बनाउन केही दिन लाग्नेछ । यस अभियानमा कसैलाई पनि बाध्यकारी बनाइने छैन ।’

एमालेले कार्यलय व्यवस्थापनका लागि अहिलेसम्म पार्टी सदस्यता, लेबीबाट रकमको जोहो गर्दै आएको थियो । गत चैत १५ मा जारी गरेको अन्तर पार्टी निर्देशन–३ मा पार्टीका उच्च आय भएका सदस्य तथा शुभचिन्तकहरूबाट पाँच वर्षसम्म महिनाको पाँच हजार संकलन गर्ने अभियान चलाउने उल्लेख गरेको थियो ।

सरकारमा रहँदा वा नरहँदा पार्टीको हैसियत सत्ताधारी दलको तहमा उठेपछि स्वाभाविकरूपमा पार्टी सदस्य भन्दा भिन्न अपेक्षा र आकांक्षा भएका नयाँ ‘दाताहरू’ पनि पार्टीको सम्पर्कमा आउने अपेक्षा एमालेले राखेको छ । तर पार्टीलाई सदस्य–आधारित बनाइरहन सकिएन र दाताहरूको प्रभाव बढ्न थाल्यो भने त्यसको प्रभाव अनपेक्षितरूपमा पार्टीको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रममाथि पनि पर्ने खतरा बढ्न सक्ने भएकाले पार्टीले आत्मनिर्भरताको यो अभियान शुरू गरेको उसको तर्क छ ।

यसरी जोडिन सकिन्छ अभियानमा

यस अभियानमा सहभागी हुन इच्छुक पार्टी सदस्य तथा शुभेच्छुकहरूले अनलाइन मार्फत भुक्तानी गर्नुपर्नेछ । यो काम झण्झटमुक्त होस् भनेर फोन–पे वा मोबाइल बैङ्किङ सेवा लिनेहरूले सिधै आफ्नो मोवाइलबाट भुक्तानी गर्न सक्नेछन् । यसका लागि पार्टीको वेबसाइट वा एमाले एप – CPN (UML) मा QR Scan उपलब्ध छ ।

अनलाइनमार्फत पार्टीको खातामा रकम जम्मा हुनासाथ पार्टी अध्यक्षको धन्यवाद सन्देश मोवाइलमा आउने छ । यसपछि यस अभियानमा संलग्न भएको पुष्टि हुनेछ । मोबाइल बैङ्किङ नहुनेहरूले पार्टीको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् । यद्यपि पारदर्शिताको लागि सबैलाई अनलाइनभुक्तानीमा जान पार्टीले जोड दिएको छ । यस प्रयोजनको लागि तोकिएको खाता नम्बर पनि पार्टीको वेब साईट र मोबाइल एप तथा सोसल मिडियामा राखिएको छ ।

महिनाको २ करोड ५० हजार जम्मा हुनेछ । वर्षको ३० करोड कोषमा जम्मा हुनेछ । पाँच वर्षमा एक अर्ब ५० करोड कोषमा जम्मा हुनेछ । कोषमा जम्मा भएको रकम पार्टीको नियामित कामबाहेक अन्य प्रयोजनका लागि नहुने अधिकारीले जिकिर गरेका छ । केन्द्रीय कोषमा जम्मा भएको रकमको नियमित परिक्षण हुने उनको भनाइ छ ।

२०७५ जेठ ३ मा तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पार्टीको कोष व्यवस्थापन र नियन्त्रण गर्न बनेको केन्द्रीय आर्थिक विनिमय, २०६७ निष्क्रिय रहेको थियो । तर २०७७ फागुन २३ मा सर्वोच्चले नेकपा खारेज गरिदिएपछि पुनः सक्रिया भएपनि अहिलेको अवस्थामा अप्रयाप्त भएको भन्दै केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनिमय, २०७८ बैठकले जारी गरेको थियो ।

पार्टीको दीगो विकासका लागि यो अभियान चलाएपनि अहिलेसम्म कोषमा कसैले रकम जम्मा नगरेको सचिव अधिकारीले जानकारी दिए ।

चुनाव जित्ने एमालेका १९ रणनीति : अन्तर्घातीलाई कारबाहीदेखि पुलिस–प्रशासनलाई तर्साउनेसम्म