NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नामिबियासँग नेपाल स्तब्ध

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूअन्तर्गत नामिबियासँग नेपाल पराजित भएको छ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको सोमबार सम्पन्न पहिलो खेलमा नेपाल ४० रनले नामिबियासँग स्तब्ध बनेको हो ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै देव खनालले ३४, कुशल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४ तथा आदिल आलम र सोमपाल कामीले समान १० रनको योगदान दिए ।

रोहित पौडेल र कप्तान सन्दीप लामिछाने एक रन पनि जोड्न नसकी आउट भए भने दीपेन्द्र सिंह ऐरीले ४ र बसिर अहमेदले ३ रनको मात्र योगदान दिन सके ।

यसक्रममा जान फ्राईलिन्च्क, बेर्नार्ड र डाभिड वेइसले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन जोडेको थियो ।

नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले भने डिभान ला ककले ४१, कप्तान गेर्हार्ड एरास्मुसले २२, क्रेग विलियम्सले २१, हान्ड्री र डाभिड वाइसले समान १८–१८ रनको योगदान दिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४, सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

हालसम्म नेपालले १७ खेल खेलेको छ । अंक तालिकाको छैटौं स्थानमा रहेको नेपालको कुल अंक १५ छ । नामिबिया भने १६ खेलमा १६ अंक जोडेर पाँचौं स्थानमा चढेको छ ।
अब नेपालले सिरिजअन्तर्गतको दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्नेछ ।