NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालको पर्यटन उद्योगलाई राम्रो बनाउन के गर्नुपर्ला ?

काठमाडौं । पर्यटन उद्योगसँग सम्बन्धित सरोकारवालाहरूले नेपालमा पर्यटनको विकासको लागि सरकारको नीति र कार्यक्रम व्यवहारिक हुनुपर्नेमा जोड दिएका छन् । पर्यटन ठूलो सम्भावना र रोजगारीको केन्द्र बन्न सक्ने भन्दै नेपालवाचको टेलिभिजन कार्यक्रम ‘पोलिसी डाइलग २०२२’ मा उनीहरूले सरकारको प्रभावकारी नीतिले यो क्षेत्रलाई धेरै माथि लान सक्ने बताएका हुन् ।

पूर्व मन्त्री याङकिला शेर्पाले नेपालको पर्यटनको विकासको लागि निजी क्षेत्रले मात्रै चाहेर नहुनेभन्दै राज्यको उत्तिकै सपोर्ट आवश्यक रहेको बताइन् ।

‘जिडिपीमा पर्यटनको १० प्रतिशत योगदान छ । यो ग्ल्यामरस क्षेत्र हो । तर यसलाई राज्यको पनि उत्तिकै सपोर्ट चाहिन्छ । पर्यटन उद्योगप्रति राज्यले गम्भीर भएर हेरेको जस्तो लाग्दैन’ उनले भनिन्, ‘एयरपोर्टमा पर्यटक आएदेखि हामी हँसिलो मुखले स्वागत गर्न सकिरहेका छैनौं अर्थात् पहिलो बिन्दुदेखि नै हाम्रोमा समस्या छन् । एयरपोर्ट सफासुग्घर र भौतिक पूर्वाधार भएर मात्रै हुँदैन । झण्झटरहित पनि बनाउनुपर्छ । पर्यटक आउनेवित्तिकै पर्यटन मन्त्रालयको मात्रै काम हो भनेर अरु मन्त्रालय पन्छिने समस्या छ ।’

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नीतिगत रुपमा पहिलेको पर्यटन गोल्डेन एरामा भए पनि अहिले त्यस्तो नभएको बताए ।

‘पर्यटनका नेपालको ठूलो सम्भावना छ । तर सम्भावना हुँदाहुँदै अपेक्षित लाभ लिन सकिरहेका छैनौं । बाटो, पूर्वाधार सबैसँग पयर्टनसम्वद्ध छ । पहिले गोल्डेन एरा थियो तर अहिले संख्या बढेको छ तर अहिले पहिले जस्तो अवस्था छैन ।’ उनले भने, ‘पर्यटनको विषयमा सरकारी भन्दा निजी क्षेत्र जेठो छ । पर्यटन मन्त्रालयभित्रकै संस्थासँग आवश्यक समन्वय हुन सकेको छैन ।’ सरकारका संयन्त्र र निजी क्षेत्रबीच आवश्यक समन्वय हुने र नीतिगत विषयमा प्रष्टता हुने हो भने धेरै उपलब्धी हासिल गर्न सकिने उनको भनाई छ ।

पर्यटन अभियन्ता प्रशान्त सिंहले नेपालमा पर्यटन के हो भन्नेमै बुझाई सही नभएको बताए ।

‘नेपालमा पर्यटन के हो भन्नेमै बुझाई सही छैन’ उनले भने, ‘यसलाई हामीले राम्रोसँग बुझ्न नै सकेका छैनौं । हामीसँग भएका प्राकृतिक सम्पदा के हुन् मानवीय सम्पदा के हो ? यस्तोलाई व्यासायिक गर्न सक्नुपर्छ ।’

पर्यटनको विकासबारे कसले के भने ?