NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

विश्वकप दाबेदार ८ टोली छानेका मुलरले इंग्ल्याण्डको नामै लिएनन्

काठमाडौं । कतारमा २२ औँ संस्करणको फिफा विश्वकप आउन अब चार महिनाभन्दा केही बढी समयमात्र बाँकी छ । यस्तोमा फुटबल पण्डित, विश्वभरका समर्थत तथा खेलाडीहरू विश्वकप विजेताबारे आ–आफ्नो अनुमान गरिहेका छन् ।

यसैबीच, सन् २०१४ मा जर्मनीबाट विश्वकप जितेका थोमस मुलरले पनि विश्वकपका दाबेदारबारे बोलेका छन् ।

सो क्रममा मुलरले आफ्नो देश जर्मनी पनि विश्वकपको एउटा प्रमुख दाबेदार भएको दाबी गरेका छन् ।

एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विश्वकपको उपाधि फेरि घर फर्काउने समय आएको बताएका छन् । रुसमा भएको अघिल्लो विश्वकपमा पाएको खराब नतिजालाई भुल्दै यो पटक जर्मनीले बलियो दाबेदारी पेश गर्ने उनले स्पष्ट पारे ।

‘विश्वकपको उपाधि घर (जर्मनी) फर्काउने उचित समय आएको छ । हामीलाई थाहा छ यो पटक हामी स्पेनजस्तो बलियो टोली रहेको कठिन समूहमा छौं । हामी कठिन समूहमा परे पनि नकआउट चरणमा जानेमा कुनै चिन्ता छैन । हामी बलियो स्पेनसँगै जापान र कोस्टारिकालाई पार गरेर सजिलै दोस्रो चरणमा पुग्नेमा विश्वस्त छौं,’ उनले भने ।

जर्मनीको तर्फबाट चौथो विश्वकप खेल्ने तयारीमा रहेका मुलरले विश्वकप जित्नसक्ने ८ देशको नाम पनि दिएका छन् । जसमा लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसमेत छन् ।

दाबेदारमा उनले जर्मनीसँगै फ्रान्स, बेल्जियम, ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, स्पेन र नेदरल्याण्ड्सको नाम लिएका छन् । तर उनले अधिकांश इंग्लिस पण्डितहरूले तेस्रो दाबेदार दाबी गरिरहेको इंग्ल्याडको नाम भने लिएनन् । फुटबलमा इंग्ल्याण्ड जर्मनीको मुख्य प्रतिद्धन्द्धी देश मानिन्छ ।

मुलरले ८ देशमध्ये पनि ३ वटा प्रमुख दाबेदार रहेको बताए । तर, ती देश कुन हुन् भन्ने चाहिँ खुलाउन चाहेनन् ।

यस्तो अवस्थामा मात्रै मेसीको अर्जेन्टिना फाइनलमा पुग्न सक्छ : हेनरी