NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमालेलाई प्रदीप पौडेलको प्रश्न : महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमालेको विभागीय जिम्मोवारीमा रहेको भन्दै प्रश्न उठिरहेका बेला प्रष्ट पार्न कांग्रेस नेता प्रदीप पौडेलले माग गरेका छन् ।

गभर्नर जस्तो व्यक्ति पार्टीको पदमा बसेको भन्दै पौडेलले सामाजिक संजालमार्फत् प्रश्न उठाएका हुन् ।

‘राष्ट्र बैंकको जिम्मेवार पदमा बहाल रहेका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमाले पार्टीको विभागीय जिम्मेवारीमा समेत रहेको समाचार बाहिर आएको छ।तर एमालेकै जिम्मेवार नेताले सरकारी सेवामा कार्यरत व्यक्ति आफ्नो पार्टीको जिम्मेवारीमा नरहेको बतउनुभयो। उसो भए, महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् एमालेले सार्वजनिक गर्नुपर्छ। सार्वजनिक सेवामा रहेको व्यक्तिलाई एमालेले पार्टीको विभागीय जिम्मेवारी दिन मिल्छ ?’ पौडेलले प्रश्न उठाउँदै भनेका छन्, ‘कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले कुनै लक्ष्य भेटाउन सक्दैन, यो तथ्य पछिल्लो एमाले सरकारको काम हेरेर पुष्टि हुन्छ। मौद्रिक नीतिसँग चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकका दैनिक समस्या सम्बोधन गर्न अत्यन्तै लचक हुनुपर्दछ। नागरिकले भोग्नु परेको चर्को मूल्य वृद्धि नियन्त्रण गर्ने गरी, व्यवसाय वा उत्पादनमा लगानी गर्न चहानेका लागि सहज र सुलभ कर्जा उपलब्ध गराउने गरी नीति आउनुपर्दछ ।’

वर्तमान अवस्थामा देशमा आर्थिक तरलता चुलिँदै गएको तर गभर्नर अधिकारीले गभर्नर भन्दा बढी पार्टीको कार्यकर्ताको रुपमा मात्रै काम गरेको आरोप चौतर्फी बढेको उनको भनाई छ ।

विशेष गरी सेयर बजारमा लगानी गरेका लाखौं साना लगानीकर्ताको बर्खिलाप काम गरेको गुनासो आएको, लामो समयदेखि बैंकहरुमा देखिएको तरलता र आर्थिक समस्या हल गर्न नसकेको आरोप गभर्नरमाथि रहेको उनको भनाई छ ।

सरकारका काम कारवाहीलाई असर गर्ने गरी पार्टी कार्यकर्ता भएर सार्वजनिक पदमा बसिरहन नमिल्ने पौडेलले बताएका छन् ।