NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कोरोना : भारतमा बढ्यो, कोरियामा घट्यो

काठमाडौं । भारतमा बुधबारको तुलनामा कोरोना सङ्क्रमण १९ प्रतिशतले बढेको छ । बितेका २४ घण्टामा २० हजार एकसय ३९ जना सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

हिजोको तुलनामा आज तीन हजार दुईसय ३३ जना कोरोना सङ्क्रमित बढेका छन् । हिजो प्रकाशित विवरणअनुसार कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार नौ सय छ पुगेको थियो । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा एक लाख ३६ हजार ७६ सक्रिय सङ्क्रमित छन् । यो कुल सङ्क्रमितको ०।३१ प्रतिशत हो । करिब चार महिनापछि १३ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १६ हजार चारसय ८२ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख २८ हजार तीनसय ५६ पुगेको छ ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय ५७ जनाको मृत्यु भएको छ । बुधबार तीन लाख ९४ हजार सातसय ७४ कोरोना परीक्षण गरिएको थियो । हालसम्म ८६ करोड ८१ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । हिजो १३ लाख ४४ हजार सात सय १४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड २७ लाख २७ हजार पाँचसय ५९ मात्रा खोप लगाइएको छ ।

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या हिजोको तुलना आज केही घटेको छ ।

बुधबार ३९ हजार एकसय ३६ जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । योसँगै दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या एक करोड ८६ लाख ४१ हजार एकसय नौ पुगेको छ । कोरोना सङ्क्रमणबाट बुधबार १६ जनाको मृत्यु भएको थियो । देशमा हालसम्म २४ हजार छ सय ९६ जनाको मृत्यु भइसकेको छ ।