NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

को हुन् उपसभामुखमा भिड्न लागेका भुसाल र भट्टराई ?

काठमाडौं । २९ महिनादेखि खाली रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी एमालेबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । आज दिउसो तीन बजे दुईबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।

को हुन् भुसाल ?

समानुपातिक सांसद भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । उनी २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित भएकी थिइन् । ०५६को संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भएकी थिइन् । उनले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । साथै १७ वर्ष उनले वकालतसमेत गरिन् । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन भुसालले गरेकी छिन् । उनी नेपाल बर एसोसिएसनका केन्द्रीय सदस्य भइसकेकी छिन् । ६१ वर्षीय भुसालकी एक छोरी छिन् ।

भुसालका बाबु काशीनाथ गौतम २०१५ सालमा बिपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री भएका थिए । २०१७ सालमा निर्वाचित सरकार अपदस्त गरी पञ्चायती व्यवस्था सुरु भएपछि १४ वर्ष भुसाल परिवार भारत निर्वासित भएको थियो । सो क्रममा भुसाल पनि सँगै थिइन् । भुसालले २०२८ सालपछि राजनीतिमा लागेकी थिइन् ।

उनले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरेसकेकी छिन् ।

भुसाल २०७४ सालमा भएको उपसभामुखको निर्वाचनमा भने पराजित भएकी थिइन् । एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग भुसाल पराजित भएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसाले ५८ मत मात्रै ल्याएकी थिइन् ।

को हुन् विद्या ?

एमालेले सुरुमा लोकतान्त्रिक समाजवादी पार्टीलाई उपसभामुखमा समर्थन गर्ने तयारी गरेको थियो । लोसपाले उम्मेदवार उठाए चन्दा चौधरीलाई समर्थन गर्ने तयारी एमालेको थियो । तर लोसपाले सत्ता गठबन्धनलाई नै समर्थन गर्ने भएपछि एमालेले आफ्नै दलबाट उपसभामुखमा विद्या भट्टराईलाई अघि सारेको हो । भट्टराई २०७६ मा भएको उपचुनावमा कास्की २ बाट दोब्बर मतले सांसदमा निर्वाचित भएकी थिइन् ।

उनी राजनीतिक परिवारबाटै राजनीतिमा होमिएकी हुन् । स्वर्गीय पूर्व मन्त्री एवं एमाले नेता रवीन्द्र अधिकारीकी पत्नीसमेत हुन् विद्या । सोही क्षेत्रबाट जितेका अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनलाई एमालेले सोही क्षेत्रबाट उपचुनावमा उम्मेदवार बनाएको थियो ।
भट्टराई एमाले नेता एवं परराष्ट्रविज्ञ राजन भट्टराईकी बहिनीसमेत हुन् ।

उनले पहिले अखिलको राजनीति गरेकी थिइन् । २०४२ सालदेखि विद्या विद्यार्थी राजनीतिमा जोडिएकी थिइन् ।
उनी अनेमासंघ काठमाडौंको कोषाध्यक्ष, २०५० मा एमालेको अखिल महिला विभाग प्रमुख र २०५५ मा अखिलको केन्द्रीय सचिव भएर काम गरेकी थिइन् ।

उनी ०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य भइन् । संघको कार्यालय सचिव, बुद्धिजीवी परिषद सदस्य पनि भइन् । दोस्रो जनआन्दोलनपछि उनी एमालेको संघीय मामिला विभागमा सदस्य भइन् ।

त्यसपछि भने उनी प्राध्यापनतिर लागेकी हुन् । २०७२ सालमा त्रिभुवन विश्वविद्यालयमा उपप्रधाध्यापकमा खुलामा नाम निकालिन् । चुनाव नउठ्दासम्म उनी रत्नराज्य क्याम्पसमा प्राध्यापन गर्थिन् ।

कसको मत कति ?

प्रतिनिधिसभामा हाल २७५ मध्ये २७१ सांसद छन् । यसमा चार जना निलम्बनमा परेकोले मत दिन पाउँदैनन् । बराबरी भएको स्थितिमा बाहेक सभामुखले पनि मत दिन पाउने छैनन् । यसैलेमा संसदमा २६६ ले उपसभामुखको लागि मतदान गर्नेछन् ।

कुन दलबाट कति सांसद ?

सत्ता गठबन्धन दलमध्ये कांग्रेसका ६३, माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९ तथा राष्ट्रिय जनमोर्चाका १ गरी १५५ सांसद छन् । महन्थ ठाकुर नेतृत्वको दलले पनि गठबन्धनका साझा उम्मेदवारलाई मत दिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेका ९८ सांसद छन् । उसलाई राप्रपा, नेमकिपा र एक स्वतन्त्र सांसदले साथ दिंदैछन् । यसैले सभामुखका लागि सत्तारुढ गठबन्धनलाई सहजै बहुमत पुग्ने देखिन्छ ।

कहिलेदेखि खाली छ उपसभामुख ?

यसअघि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ मा ६ गते राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त छ ।

तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिएकी थिइन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने व्यवस्था छ ।