NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एमालेसँग पराजित भइ एमालेलाई नै हराएर उपसभामुख जित्ने को हुन् पुष्पा भुसाल ?

काठमाडौं । पहिलो प्रयासमा असफल भएकी कांग्रेसकी पुष्पा भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख चयन भएकी छिन् ।

२०७४ मा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी भुसालले यसपटक भने एमालेकै उम्मेदवारीलाई पराजित गरेकी हुन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार बनेकी भुसालले एमालेकै विद्या भट्टराईलाई पराजित गरिन् ।

एमाले उम्मेदवारसँग पराजित भएर एमालेकै उम्मेदवार हराउने अनाैठाे संयाेग उनले बनाएकी हुन् । नेकपा विभाजन हुँदै नयाँ राजनीतिक दृश्य देखिएपछिकाे सत्ता गठबन्धनकाे सहयाेगमा भुसाल उपसभामुख बनेकी हुन् ।

विजयी भुसालले १४८ र पराजित भट्टराईले ९३ मत ल्याइन् ।

समानुपातिक सांसद भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । उनी कांग्रेस सचेतककाे रूपमा संसदीय गतिविधिमा सहभागी हुँदै अाएकी छिन् । उनी २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित भएकी थिइन् ।

०५६को संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भएकी थिइन् । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन भुसालले गरेकी छिन् । उनले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । साथै १७ वर्ष उनले वकालतसमेत गरिन् । कानुनी विषयकाे राम्राे जानकार उनकाे थप र बलियाे परिचयसमेत हाे ।

उनी नेपाल बर एसोसिएसनका केन्द्रीय सदस्य भइसकेकी छिन् । ६१ वर्षीय भुसालकी एक छोरी छिन् ।

भुसालका बाबु काशीनाथ गौतम २०१५ सालमा बिपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री भएका थिए । २०१७ सालमा निर्वाचित सरकार अपदस्त गरी पञ्चायती व्यवस्था सुरु भएपछि १४ वर्ष भुसाल परिवार भारत निर्वासित भएको थियो । सो क्रममा भुसाल पनि सँगै थिइन् । भुसालले २०२८ सालपछि राजनीतिमा लागेकी थिइन् ।

उनले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरेसकेकी छिन् ।

भुसाल २०७४ सालमा भएको उपसभामुखको निर्वाचनमा भने पराजित भएकी थिइन् । एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग भुसाल पराजित भएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसाले ५८ मत मात्रै ल्याएकी थिइन् ।

प्रतिनिधिसभाकाे अर्काे निर्वाचन घाेषणा हुनै लाग्दामात्रै उपसभामुख चयन गरिएकाे हाे ।

जितेपछि के भनिन् ?

आफू पार्टीबाट निर्वाचित भए पनि भूमिकाले दिएको तटस्थताको जिम्मेवारी निर्वाह गर्ने प्रतिक्रिया उनको छ ।

‘सबैलाई बधाई छ । लामो समयदेखि यो पद खाली थियो । संविधान पक्षरधर सबैको लागि खुशीको दिन हो । संविधान कार्यान्वयन भएको छ । सबै पदले पूर्णता पाएको छ । निर्वाचन गराएकोमा आभार व्यक्त गर्दुछु’ उनले भनिन्, ‘संविधान कार्यान्वयन, समावेशी लोकतन्त्र कार्यान्वयनको लागि धेरै काम गर्नुपर्नेछ । सदनमा तटस्थताको भूमिका निर्वाह गर्न जिम्मेवारी थपिएको छ । जिम्मेवारीपूर्वक यो भूमिका निर्वाह गर्छु ।’

संवैधानिक परिषद्को बैठकलाई सत्ता गठबन्धनबाट प्रभाव पार्न ढिलो गरी यो पदको निर्वाचन गरिएको हो भन्ने प्रश्नमा उनले भनेकी छिन्–संवैधानिक परिषद्लाई संविधानले व्याख्या गरेको छ । यसमा सबैको उपस्थिति छ । प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्छु । उपसभामुख रहेसम्म पार्टीमा उपस्थितिलाई मेरो पदले मान्यता दिंदैन ।’

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल विजयी

को हुन् उपसभामुखमा भिड्न लागेका भुसाल र भट्टराई ?