NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

केन्द्रीय समिति बैठक सकिनु अघि नै आज किन बस्दैछ कांग्रेसको पदाधिकारी बैठक ?

काठमाडौं । चुनावी समीक्षासहितको लामो केन्द्रीय कार्यसमितिको बैठक समापन अघि कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।

भोलि केन्द्रीय समितिको बैठक सकिने भएकोले मुख्य निर्णयको लागि छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो । बैठक दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

‘२७ असारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक भोलि सकिंदैछ । भोलि छोटो बैठक गरी बैठकको निर्णय सुनाउनछौं’ प्रवक्ता डा. प्रकाशशरण महतले नेपालवाचसँग भने, ‘चुनावी समीक्षासहितका हिजोअस्तीदेखि नै उठेका विषयवस्तुको मोटामोटी प्रस्ताव तयार गर्न पदाधिकारीकाहरू बस्न लागेका हौं ।’

कांग्रेस बैठकमा वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पार्टीले उल्लेख्य सफलता पाए पनि चुनावी तालमेलको विषयमा भने प्रश्न उठेको थियो । अब मंसिरमा हने चुनावमा तालमेल नगरी एक्लै अघि बढ्नुपर्ने मत कांग्रेसमा छ । मुख्य गरी डा. शेखर कोइराला पक्षधरले चुनावी तालमेल गर्न नहुने अडान लिइरहेको छ ।

तर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा तालमेल नगरी कतिपय ठाउँमा चुनाव जित्नै नसक्ने अवस्था रहेको भन्दै तालमेलको पक्षमा छन् ।

यसैले कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चुनावी तालमेलको विषयमा कस्तो निर्णय गर्छ भन्ने विषयलाई निक्कै महत्वका साथ हेरिएको छ ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेपछि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेताहरू नै पराजित हुन पुगेका थिए । यसपटक अहिलेको सत्ता गठबन्धन दलको बलमा कांग्रेसलाई पहिलो दल बनाएर सरकार बनाउने सोच देउवाको छ ।