NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रहरीको सुरक्षा घेरामा यसरी बस्छन् भ्रष्टाचार आरोपी दीपकुमार बस्न्यात

काठमाडौं । सरकारले विभिन्न विशिष्ट व्यक्तिको सुरक्षाका लागि भन्दै दुई सय २३ सशस्त्र प्रहरी जवानलाई खटाएको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अन्तर्गत गृह मन्त्रालयले सुरक्षा सेवा उपलब्ध गराउँदै आएको छ ।

अवकाशपछि राज्यबाट सुरक्षा सेवा पाउनेमा पूर्व राजा, राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्री र संवैधानिक आयोगका पूर्वपदाधिकारीहरू समेत छन् ।

राज्यको समग्र सुरक्षा प्रणाली कमजोर हुँदा यसरी व्यक्तिगत सुरक्षाका लागि प्रहरी खटाउनु बाध्यता बन्न जान सक्छ । हरेक नागरिकको सुरक्षाको जिम्मा लिनुपर्ने राज्यले विशिष्ट पदाधिकारी तथा पूर्व पदाधिकारीलाई सुरक्षा दिनु स्वभाविक दायित्व हो ।

तर यतिसम्म की राज्यको संवैधानिक निकाय अख्तियारले भ्रष्टचारी ठहर गरेको र सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको दीपकुमार बस्न्यातलाई पनि सरकारले छुट्टै सुरक्षाकर्मी खटाएको छ । उनको सुरक्षाको लागि सशस्त्रका ५ प्रहरी परिचालन गरिएको छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्व अधिकारीलाई दिइने सुरक्षा सुविधा पनि अन्य सेवा सुविधा अन्तर्गत नै पर्छ । तर, भ्रष्टाचार मुद्दा परेलगत्तै राज्यबाट पाइने अन्य सेवा सुविधा कटौती हुँदा पनि सुरक्षासम्बन्धी उनीहरूले पाउने सेवा भने कटौती गर्ने प्रावधान छैन ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सरकारले सुरक्षाका लागि सबैका लागि आवश्यक पर्दा सुरक्षाकर्मी खटाउनु दायित्व भएको बताउँछन् । त्यसमाथि विशिष्ट कर्मचारीलाई उनीहरूको पदीय हैसियतले यो सुविधा दिनुपर्ने हुन्छ नै । अझ मुद्दा खेपिरहेको अवस्थामा सुरक्षा ‘थ्रेट’ का कारण पनि सुरक्षाकर्मी दिनुपर्ने उनले बताए ।

‘मुख्यतः उहाँहरूले पाउँदै आएको सेवा सुविधाका कारण पनि सुरक्षा दिनैपर्ने भयो,’ उनले भने, ‘झन् मुद्दा खेपिरहेको अवस्था हो भने त सुरक्षा थ्रेटका कारण पनि हामीले सुरक्षाकर्मी खटाउनुपर्ने दायित्व हुन्छ ।’

हाल बस्न्यातमाथि आर्जन गरेको भनिएको गैरकानुनी सम्पत्तिको स्रोत पहिल्याउन सम्पत्ति शुद्धिकरण विभागले अहिले पनि अनुसन्धान जारी राखेको छ । विभागका सूचना अधिकारी ऋषिराम पोखरेलले विभागले अनुसन्धान टुंगाइनसकेको जानकारी दिए ।

‘विभागले अनुसन्धान अधिकृत खटाएर खोजबिन जारी राखेको छ,’ उनले भने, ‘विवरणहरू माग भइरहेका छन् ।’

बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएको ठहर गर्दै अख्तियारले मुद्दा चलाएलगत्तै विभागले उनीमाथि अनुसन्धान थालेको हो । अनुसन्धानमा बस्नेतसँग करिब एक अर्ब गैरकानुनी सम्पत्ति भेटिएको थियो । उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रूपैयाँ बिगो माग राखी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले उनीसँगै १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

गृह मन्त्रालयले उनलाई अख्तियारका पूर्व प्रमुख आयुक्तको हैसियतमा सुरक्षाकर्मी खटाएको हो । तर उनी पूर्व प्रमुख आयुक्त भइसकेपछि अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

२०७७ मंसिर २८ मा विशेष अदालतले बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि उनी बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्च अदालतसम्म पुुगेका थिए । २०७८ वैशाख २४ मा सर्वोच्च अदालतले बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गरेको थियो । त्यसपछि २७ वैशाखमा धरौटी बुझाएर उनी रिहा भएका थिए ।

अख्तियारका पूर्वप्रमुख बस्न्यातको राजसी ठाँट : सोफामा सुनको जलप !

दीप बस्न्यातसँग भेटियाे एक अर्ब गैरकानुनी सम्पत्ति (भिडियाे रिपाेर्ट)

 

ताजा अपडेट

नेपालवाच विशेष