NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पार्टी काममा फर्किएनन् एकीकृत समाजवादीका पूर्वमन्त्री

काठमाडौं । मन्त्रीबाट जबर्जस्ती फिर्ता बोलाएको भन्दै पार्टी नेतृत्वसँग असन्तुष्ट एकीकृत समाजवादीका पूर्वमन्त्री अझै पार्टी काममा फर्किएका छैनन् ।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनमा सक्रिय नेता मन्त्रीबाट फिर्ता भएसँगै निष्क्रिय देखिनुलाई एकीकृत समाजवादीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । उनीहरू मन्त्रीबाट फिर्ता भएको तीन साता बितिसकेको छ । तर असन्तुष्टिको तुष अझै मेटिएको छैन ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले मगर र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी र शेरबहादुर कुँवरलाई एकीकृत समाजवादीले मन्त्री बनाएको छ । तत्कालीन स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ मन्त्रीमा बढुवा भएका छन् । उनको स्थानमा हीरा केसी स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

‘उहाँहरू सार्वजनिक काममै हुनुहुन्छ होला,’ केन्द्रीय कार्यालयका सचिवसमेत रहेका उपमहासचिव गंगालाल तुलाधरले भने, ‘पार्टी नेतृत्वसँग उहाँहरू नियमित सम्पर्कमा हुनुहुन्छ । सचिवालयको आगामी बैठकले उहाँहरूको परिभाषित जिम्मेवारी तोक्नेछ ।’

पार्टीले परिभाषित काम नदिएका कारण पूर्वमन्त्रीहरूलाई अप्ठ्यारो भएको हुनसक्ने एक नेताले बताए ।

मन्त्रीबाट फिर्ता भएपछि पार्टीले जिम्मेवारी नतोकेको झाँक्रीले बताइन् । मन्त्री हुँदा पिँजडामा थुनिएजस्तो अनुभूतिबाट फुर्सद मिलेको र साथीभाइसँग व्यक्तिगत भेटघाटमा समय दिइरहेको उनले जानकारी दिइन् ।

मन्त्रीबाट हटाइएका एकीकृत समाजवादीका सांसद निष्क्रिय रहे पनि नयाँ मन्त्री भने नियमित पार्टी कार्यालयमा जाने गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।