NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

देउवा आफैँले आफैँलाई दिए सुझाव, गराए ध्यानाकर्षण !

काठमाडौं । सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सकिएको छ । गत असार २७ देखि बसेको बैठक विभिन्न १३ निर्णय गर्दै आज सकिएको हो ।

यसमध्ये एउटा निर्णय अलि अनौठो छ । सभापति शेरबहादुर देउवाले आफैँले आफैँलाई सुझाव दिएका छन् । ध्यानाकर्षण गराएका छन् । किनकि, कांग्रेस सभापतीय पद्दतिमा छन् । उनी पार्टीका सर्वैसर्वा छन् । यता, उनी सभापति रहेको कांग्रेसले सरकारको नेतृत्व गरिहेको छ । तिनै सभापति देउवा नै प्रधानमन्त्री छन् ।

यस्तोमा पनि सभापति देउवाले आफ्नै नेतृत्वको सरकारलाई सुझाव र ध्यानाकर्षण गराएका हुन् । बैठक सकिएपछि जारी गरिएको विज्ञप्तिको १२ औँ बुँदामा सरकारलाई सुझाव र ध्यानाकर्षण गराइएको छ ।

यस्ता छन् सुझाव र ध्यानाकर्षण :

१२. सरकारलाई सुझाव तथा ध्यानाकर्षण : संविधानको रक्षा गर्न र लोकतान्त्रिक संस्थाहरूमाथिको आक्रमण रोक्नका निम्ति विशेष परिस्थितिमा नेपाली कांग्रेस नेतृत्वमा गठन भएको पाँच दलीय गठबन्धनको वर्तमान सरकारले आफ्नो कार्यकालको एक वर्ष पूरा गरेको छ । संविधानलाई ट्रयाकमा ल्याउँदै क्रमशः कोभिड खोप व्यवस्थापन, एमसिसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको यो बैठक कदर गर्दै अनेक राजनैतिक चुनौती पार गर्दै मुलकलाई सहि मार्गमा ल्याई पु¥याउन सफल नेतृत्व गरेको नेपाली कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नति यात्रालाई सार्थक गति दिन सकिन्छ र त्यो नै आजको प्रधान कार्यभार हो भन्ने आग्रह साथ यो बैठक जनजीविका र सुशासन लगायत निम्न विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।

(क) पूर्ववर्ती सरकारले संविधानको मर्मविपरित संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निर्णयहरूका विरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानून बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुनेगरी निर्णय गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ ।

(ख) देशको विद्यमान आर्थिक अबस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढङ्गले भय सृजना गर्ने काम भइरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था के छ, मुख्य समस्या कहाँ छ, चुनौतीहरू के छन्, जोखिम न्युनीकरण गर्न के गर्न सकिन्छ लगायतका विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ तथा अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्य योजना तयार गरि कार्यान्वयन गर्न सरकारसंग आग्रह गर्दछ ।

(ग) सुशासन कायम गर्ने सन्दर्भमा ‘शून्य सहनशीलता’ नीति अंगिकार गरी व्यवहारिक कार्यान्वयन गर्न, पारदर्शीता कायम गर्न र गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने अवस्थाको सिर्जना गर्न कुनै कसर बाँकी नराख्न यो बैठक सरकारसँग आग्रह गर्दछ ।

(घ) महंगी, कालोबजारी, मलको अभावलगायत जनजीविकाका सवालहरूमा सरकारले विशेष ध्यान दिई जनताले दैनिक रुपमा भोग्नुपरेका समस्या, प्रक्रियागत झन्झट र अप्ठ्याराहरूलाई सहज बनाउन र जनताको साथमा सरकार छ भन्ने अनुभूति दिलाइरहन सरकार थप क्रियाशील हुन यो बैठक आग्रह पर्दछ । खेतीको समयमा हरेक बर्ष नेपाली किसानहरूले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न यो बैठक सरकार समक्ष आग्रह गर्दछ ।

(ङ) नागरिकताबाट बञ्चित नेपाली नागरिकहरूलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्था बमोजिम संसदमा सरकारद्वारा प्रस्तुत नागरिकतासम्बन्धी विधेयकलाई संसदको चालु अधिवेशनबाट पारित गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।

केन्द्रीय समितिको बैठक सकिएपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा के छ ? (पूर्णपाठ)

 

के–के निर्णय गर्‍याे कांग्रेस केन्द्रीय समितिले ?

गगनलाई कांग्रेसमा महत्वपूर्ण जिम्मेवारी, अरु कसले के–के पाए ?