NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काठमाडौं १ मा सिंह, मिश्र र खरेलबीच त्रिपक्षीय भिडन्त भए कसले मार्ला बाजी ?

काठमाडौं । २०७४ सालमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको काठमाडौं १ मा आगामी प्रतिनिधिसभा निर्वाचन पनि उस्तै रोमाञ्चक हुने देखिएको छ ।

अघिल्लोपटक कांग्रेसका प्रकाशमान र सिंह र विवेकशील साझाका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा भएको थियो । यसपटक सिंहलाई चुनौती दिन नेपाल सुशासन पार्टीका संस्थापक एवं पूर्व डिआइजी रमेश खरेल अघि बढेका छन् ।

तर अघिल्लोपटक भिडेका मिश्रले फेरि पनि काठमाडौं १ बाटै उम्मेदवारी दिने चर्चासँगै यसपटक फेरि रोमाञ्चक भिडन्त हुन सक्ने देखिएको हो । मिश्रले विवेकशील साझा वा स्वतन्त्र केबाट उम्मेदवारी दिने भन्ने प्रष्ट्याइसकेका छैनन् । आफू निकटकासँग उनले आफू उम्मेदवार बन्ने बताइसकेका छन् । तर घाेषणा गरिसकेका छैनन् ।

मिश्रले ल्याए नयाँ एजेण्डा

विवेकशीलको नेतृत्वमा हुँदा मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । तर नयाँ पुस्तक विचारभन्दा माथि देश बजारमा ल्याउन लागेका मिश्रले संवैधानिक राजसंस्था, संघीयताको खारेजी, हिन्दु–बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक) लोकतन्त्रको मुद्दा अगाडि सारेका छन् । यस अघि गणतन्त्रबाट प्रष्ट नभएका उनले नयाँ पुस्तकमा आफूलाई प्रष्ट राजावादीको रुपमा उभ्याएका छन् । संघीयता खारेज नै गर्नुपर्ने उनको मत छ । हिन्दु–बौद्ध राष्ट्रको अवधारणा उनको छ । स्थानीय तहको निर्वाचनमा कमजोर बने पछि यी एजेण्डा लिएर मिश्र चुनावमा जाने तयारीमा जुटेका हुन् ।

यस्तो थियो २०७४ सालको भिडन्त

काठमाडौं १ बाट २०७४ सालको निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले ८१८ मतको साँघुरो अन्तरले मात्रै जित्न पुगेका थिए । मिश्रले १० हजार एक सय १८ मत ल्याउँदा परम्परागत क्षेत्रमा साँघुरो जित हात पार्दा सिंहले १० हजार ९३६ मत ल्याएका थिए । वाम गठबन्धनका अनिल शर्माले ५ हजार ३३६ मत ल्याएका थिए ।

स्थानीय तहको निर्वाचनमा पार्टीले नराम्ररी पराजय भोगेपछि मिश्रले पार्टीको नेतृत्वबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वबाट राजीनामा दिएपछि मिश्रले फेरि यसपटक पनि उम्मेदवार बन्ने इच्छा व्यक्त गरेपछि यसपटक त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिएके हे । यस अघि नै तर यसपटक सिंहलाई चुनौती दिन खरेल अगाडि सरेका हुन् । यो चुनौतीमा मिश्र पनि मिसिए काठमाडौं १ मा रोचक त्रिपक्षीय भिडन्त हुनेछ । तर खरेल पनि अघि सरेपछि अलग पेशाबाट राजनीतिमा होमिएका मिश्रको उठ्ने सम्भावना कम रहकाे बताइएकाे थियाे। तर मिश्रले उठ्ने संकेत गरेका हुन् ।

सिंहको परम्परागत बलियो क्षेत्रमा अब के होला ?

यी  तीन नेता नै काठमाडौंमा भिडे प्रतिस्पर्धा रोचक हुनेछ । किनकी पुरानो दल कांग्रेसबाट सिंह उम्मेदवार हुँदा वैकल्पिक शक्तिका रुपमा उदाउने दाबी गरेका मिश्र र खरेलबीच न्युट्रल मतदाता बाँडिन सक्नेछन् । यसको फाइदा सिंहलाई पनि हुन सक्नेछ ।

सिंहले २०६४ सालको पहिलो, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन पनि काठमाडौं १ बाटै जितेका थिए । २०७४ मा पनि जितेपछि सिंहले जितको ह्याट्रिक पनि गरे । तर अघिल्लोपटक मिश्रले दरो काउन्टर दिएको क्षेत्रमा यसपटक पूर्व लोकप्रिय प्रहरी अफिसर रमेश खरेल चुनौती दिन अघि बढेका हुन् । सुशासन पार्टीले संस्थापक खरेल काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरिसकेको छ ।

मिश्रले फेरि काठमाडौंबाट लड्न इच्छा देखाएपछि योपटक सिंहलाई दबाब फेरि पनि घट्ने छैन । किनकी स्थानीय तहको निर्वाचनमा स्वतन्त्रकै पक्षमा लहर देखिएको छ । यसको फाइदा परम्परागत दलविरुद्ध वैकल्पिक शक्तिका रुपमा उदाउन खोजेका शक्तिले उठाउन सक्नेछन् । तर मिश्रको राजनीतिक ढुलमुल, पार्टीमा विग्रहको अवस्थाले गर्दा उनी पहिले जति शक्तिशाली नहुने बताइन्छ । उम्मेदवारी दिनु अघि मिश्रले यी सबै पक्षको लेखाजोखा पक्कै गर्नेछन् ।

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनले परम्परागत गढ जतिसुकै बेला भत्किन सक्ने देखाएको छ । र्याप गायनबाट सेलिब्रेटी बनेका इन्जिनियरसमेत रहेका बालेन शाहले काठमाडौंको मेयरमा यसपटक अप्रत्यासित जित निकाले । बालेनको जितपछि कांग्रेस र एमालेको आफूलाई कहीं पनि सुरक्षित देखेका छैनन् । घरघरसम्म संगठनको जालो भएका यी दुई दलका बलिया उम्मेदवारलाई पछि पार्दै बालेन मेयरको रुपमा उदाएका हुन् ।

काठमाडौंमा मेयर बन्दा बालेनले पूर्व मेयर केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई पछाडि छोडे । सिंह प्रकाशमानकी श्रीमती पनि हुन् । स्थानीय तहको निर्वाचनको ६ महिनालगत्तै यसै महानगरभित्र पर्ने काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान आफैं प्रतिनिधिसभामा उठ्दैछन् । यसैले स्थानीय तहको नतिजा आलो नै रहेको बेला हुने प्रतिनिधिसभाको निर्वाचनलाई धेरैले रोचक हुने ठानेका छन् । किनकी अघिल्लोपटक साझाका मिश्रले सिंहसँग दरो चुनावी प्रतिस्पर्धा गरेका थिए ।

सक्रिय राजनीतिमा कम रहेकी सिर्जनालाई उठाएको भन्दै सिंहको आलोचना पनि भएको थियो । १४ औं महाधिवेशनमा पहिलो चरणमा सिंह आफैं सभापतिमा भिडेका थिए । तर दोस्रो चरणमा उनले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरिदिए । सिंहको समर्थनपछि देउवा सभापतिमा निर्वाचित भए भने डा। शेखर कोइराला पराजित हुन पुगे ।

आफूलाई लगाएको त्यही गुन तिर्न देउवाले सिंहको सिफारिसमा सिर्जनालाई काठमाडौंमा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनाएको भनेर आलोचना गर्नेहरू पनि छन् । तर सिंह परिवारले यस्तो आरोपलाई अस्वीकार गर्दै आएको छ । लामो समय देउवाको विरोध गरे पनि रातारात उनलाई समर्थन गरेर सभापति बनाएको भन्दै संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहसँग नराम्ररी रिसाएका छन् । यही रिसको झोक फेर्न पनि कांग्रेसकै नेताहरूले सिर्जनालाई भोट नहालेको बताइन्छ । स्वतन्त्रका बालेनभन्दा सिंह २० हजार मतले पछि परेकी थिइन् । यस्तै नियति प्रकाशमानले पनि काठमाडौं १ मा भोग्नुपर्ने सम्भावनालाई नकार्न नसकिने बताइन्छ ।

यसैले मंसिरको लगत्तै हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा पनि सिंहलाई सहज नहुने आकलन गरिएको छ । महानगरमा कांग्रेस र एमालेका परम्परागत पकड रहेको ठाउँमा पनि बालेनले सबैभन्दा भोट ल्याएर जितेका थिए । यसैले परम्परागत दलका निम्ति काठमाडौंका धेरै निर्वाचन क्षेत्र आगामी चुनावमा सहज नहुन सक्छ । स्वतन्त्रबाट उम्मेदवारी दिने लहर, नयाँ पार्टीको लहरले परम्परागत दललाई चुनौती पेश गरेका छन् ।