NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

१६५ वटै सिटमा तालमेल हुँदा सत्तारुढ कुन दललाई कति सिट ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ३२९ सिट जितेर हौसिएको सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा राष्ट्रिय जनमोर्चासँग कांग्रेसले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय केन्द्रीय समितिको बैठकबाट गरेको हो ।

‘२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा पाँच दलीय गठबन्धनमा सहभागी हुने निर्णय पार्टीले गरेको थियो । यही निर्णयका आधारमा कतिपय स्थानीय तहमा गठबन्धन सहित हामीले निर्वाचनमा भाग लियौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक समग्रमा गठबन्धन सहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गर्दछ ।’ कांग्रेसले निर्णयमा भनेको छ ।

यसै परिणामबाट हौसिएको कांग्रेसले प्रष्ट शैलीमा सत्ता गठबन्धनमा आवद्ध दलसँग फेरि पनि तालमेल गर्ने निर्णय गरेको हो । तालमेल गरेर पार्टीलाई पहिलो दल बनाउने सपना कांग्रेसले पालेको छ ।

‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमत तर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।’ कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाएको परिणामप्रति सन्तोष व्यक्त गरेको छ ।

साथै, तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भुमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठ्बन्धनमा रहेका दलहरुसंग संवाद मार्फत निष्कर्षमा पुग्ने निर्णय उसके छ । आफैंलाई केन्द्रमा राखेर तालमेल गर्ने कांग्रेसको यो निर्णयले प्रष्टै देखाउँछ ।

स्थानीय तहको निर्वाचन परिणामले हौसिएको कांग्रेसले यस्तो निर्णय गरे पनि पाँँच दललाई बाँड्न जम्मा प्रत्यक्षका १६५ सिटमात्रै छन् ।

गत निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा कांग्रेस २३ सिटमा खुम्चिएको थियो । उसका केहीबाहेक धेरै प्रभावशाली नेताले निर्वाचनमा नमिठो पराजय बेहोरेका थिए । कुनै पनि प्रदेशमा कांग्रेस बलियो देखिएन । सातवटैमा कमजोर प्रतिपक्षीका रुपमा देखियो ।

त्यसैले यसपटक कांग्रेसले चुनावी तालमेललाई मुख्य प्राथमिकतामा राखेको हो । किनकी एमाले र माओवादी मिलेर आफूलाई किनारामा पारिएको हिसाब कांग्रेसले राखेको छ । यसैले संस्थागत रुपमा तालमेलमा विवादरहित निर्णय पार्टीबाट गराउन यसपटक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सफल भएका छन् ।

तर १६५ सिट पाँच दललाई मिलाएर भागबण्डा गर्नु कम चुनौतीपूर्ण भने छैन । यसरी तालमेल गर्दा कांग्रेसमा कम्तिमा १०० सिट आफूलाई राख्नुपर्ने मत बलियो छ । यस्तो भए ६५ सिटमा माओवादी, नेकपा एस र जसपालाई मनाउनुपर्ने हुन्छ । जुन कठिन देखिन्छ । जबकी अघिल्लोपटक माओवादी ३६ सिट जितेको थियो । यसैले यसपटक कम्तिमा ५० सिट दाबी गरेको छ । यस्तोमा बाँकी १५ सिटमा नेकपा एस र जसपालाई मनाउन सक्ने अवस्था कांग्रेसलाई छैन । यसैले सिट बाँडफाँट कांग्रेसको लागि सबैभन्दा जटिल बन्न सक्ने देखिएको छ ।

सिट बाँडफाँटबारे के छ त कांग्रेसको मत ? प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन परिणामसहितका विषयमा केन्द्रित रही शीर्ष नेताले सिटको विषय मिलाउने जानकारी दिए ।

‘गठबन्धन गर्दा स्थानीय तहमा भएका अनुभव, मत परिणाम, त्यसबेला उत्पन्न समस्या र चुनौती सबैलाई केन्द्रमा राखेर सिट बाँडफाँट गर्ने काम हुन्छ,’ महतले भनेका छन्, ‘अब शीर्ष तहमा यस विषयमा छलफल सुरु गरेर विस्तारै टुंगोमा पुग्छौं।’ चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णयप्रति माओवादी, नेकपा एस र जसपाले सुरुवातमा सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

यस्तोमा कांग्रेसले नै अन्य दललाई मनाउनुपर्ने हुन्छ । किनकी गठबन्धनबाट माओवादी र नेकपा एस बिच्किए एमालेसँग गठबन्धनमा पुग्ने अवस्था देखिन्छ । यसैले आफूले नै त्याग गरेर माओवादी, नेकपा एस र जसपालाई मिलाउनुपर्ने बाध्यता कांग्रेसलाई छ ।

बार्गेनिङमा सम्मानजनक स्थान नपाए एमालेसँग गठबन्धन गरेर जाने दबाब यी दुई दलले प्रष्टै बढाउने घटनाक्रमले देखाएका छन् । एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय माओवादी र नेकपा एस दुवैलाई गाली गरेका छैनन् । बरु पहिले गल्ती भएको भन्दै स्वीकार्दै गठबन्धन गरेर अघि बढ्न आग्रह गरिरहेका छन् । यसैले माओवादी र नेकपा एसको विश्वास जित्दै कांग्रेसलाई पहिलो दल बनाउने प्रधानमन्त्री  देउवाको सोच कम चुनौतीपूर्ण छैन ।

कांग्रेसका लागि बहुमतमा पुग्ने भर्याङ नै माओवादी, नेकपा एस र जसपा हुन् भन्ने देउवालाई प्रष्टै थाहा छ । यसैले चुनावी तालमेलविरोधी भावना भए पनि केन्द्रीय समितिबाट देउवाले तालमेलबारे सर्वसम्मत निर्णय गराएका छन् ।

यस्तोमा एक सय सिटको अडानबाट ८० देखि ८५ सिटमा आफू लडेर बाँकी यति नै ८५ हाराहारी सिटमा माओवादी, नेकपा एस र जसपालाई दिएर मनाउनुपर्ने बाध्यता देउवालाई देखिन्छ । जुन सहज काम हाेइन ।

कांग्रेस धेरै सिट पनि दिने, चुनावपछिको बहुमतको सरकार पनि दिने, प्रदेशमा पनि राम्रो हिस्सा दिन माओवादी र नेकपा एस तयार छैनन् । माओवादीले कांग्रेससँग आलोपालो प्रणालीमा प्रधानमन्त्रीको प्रष्टै बार्गेनिङ गर्ने देखिएको छ । बार्गेनिङ गरी कांग्रेस एक्लैलाई हावी हुन नदिने उनीहरूको तयारी छ । किनकी एमाले अध्यक्ष केपी ओलीसँग गरिएको यस्तै सहमति कार्यान्वयन नहुँदा तत्कालीन नेकपा विघटनसम्म पुगेको थियो । यसैले यसपटक आफू निर्णायक शक्ति रहेको फाइदा प्रष्ट बार्गेनिङ र सहमति गरेर उठाउने दाउमा प्रचण्ड हुनेछन् ।

यता माधव नेपालकाे दलले पनि अघिल्लोपटक एमालेले जितेका सिटमा दाबेदारी दिइरहेको छ । तर उसले कम्तिमा पनि ४० हाराहारी सिट गठबन्धनसँग खोजेको छ । प्रभावशाली मन्त्रालय, प्रदेश सरकारमा पनि दाबी एसको हुनेछ । यस्तो दाबीमा जसपालाई भागबण्डा पुग्नेछैन । जसपाले पनि कम्तिमा १५ सिट गठबन्धनसँग माग्नेछ । तर मिलाउनुपर्ने दायित्व फेरि पनि कांग्रेसलाई हुनेछ । अरु दललाई मिलाउँदा आफूले दाबी गरेको कम्तिमा ५० प्रतिशत सिटबाट तल झर्नुपर्ने अवस्था कांग्रेसलाई छ । माओवादीले ४०, नेकपा एसले ३५ र जसपाले १५ लिने अवस्था भए कांग्रेस ७५ सिटसम्म झर्नुपर्ने हुनसक्छ । गठबन्धन टिकाउने हाे भने कांग्रेस बार्गेनिङका क्रममा याे विकल्पमा पनि झर्नुपर्नेछ । यस्ताे हुँदा टिकटकाे मारमार हुने कांग्रेसकाे तनावकाे स्थिति उत्पन्न हुनेछ । केही सिटमा जनमाेर्चाकाे पनि दाबेदारी हुनेछ ।

कांग्रेसको निर्णयमा प्रचण्डको उत्साह

यसैबीच चुनावी तालमेल गर्ने कांग्रेसको निर्णयबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उत्साही छन् । डा. बाबुराम भट्टराईसँग भेट गरेपछि कांग्रेसको चुनावी तालमेलको निर्णयमा उनले उत्साह जनाएका हुन् । ‘चुनावी तालमेलबारे कांग्रेसले सही निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने नै छ ।’ उनले भनेका छन्, ‘यो गठबन्धनमा यता–उता गर्ने भन्ने हाम्रो कहीँ–कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको पनि ।’