NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बरण्डामा थन्क्याइए यी सहसचिव- उपसचिव

काठमाडौं ।  विवेक घिमिरे २०७८ पुस २२ गते उपसचिव भएका हुन्। तर, उनको न कतै पोस्टिङ भएको छ, न त कुनै जिम्मेवारी नै तोकिएको छ। उपसचिव घिमिरे जस्तै सुवास पौडेल, रोशन अर्याल, जनक थापा, सुमन धिताल, होमनाथ काफ्ले, गोविन्दप्रसाद गौतम, विमला रोक्का श्रेष्ठ, अर्जुन राई, रामप्रसाद आचार्य, विनोद कुँवर, एकदेव खनाल, नवराज अधिकारी, भीमबहादुर बुढा हरेक दिन सामान्य प्रशासन मन्त्रालय पुग्छन्, हाजिर गर्दै दिन कटाउँछन्।

यस्तै, एक दर्जन बढी सहसचिव पनि काम नपाएर मन्त्रालयको बरन्डामा ‘घाम ताप्दै दिन कटाउने’ गरेका छन्। अतिरिक्त समूहका उनीहरूले विगत ५/६ महिनादेखि हाजिर गर्ने र तलब थाप्ने मात्रै काम गरिरहेका छन्। अझै कति दिन यसरी नै ‘जागिर खानुपर्ने हो’ उनीहरूलाई जानकारी छैन। कर्मचारीको तलब र सेवा सुविधामा राष्ट्रको ढुकुटी भने खर्च भइरहेको छ। तर, राज्यको ढुकुटीबाट सेवा सुविधा लिइरहेका कर्मचारी भने कामै नदिई बेकामे बनाएर राखिएको छ। एक उपसचिवले भने, ‘हाम्रो काम भनेको मन्त्रालयमा गयो हाजिर गर्‍यो, फक्र्यो। काम नै नपाएपछि के गर्ने त ?’

राजनीतिक हस्तक्षेपका कारण नै सहसचिवहरू बरन्डामा थन्किनु परेको हो। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बसन्त अधिकारी भने कर्मचारीको पोस्टिङको काम भइरहेको बताउँछन्।

‘यो अस्वाभाविक भएन’, अधिकारी भन्छन्, ‘नयाँ सहसचिव आउनुहुन्छ। क्रमशः व्यवस्थापन गरिन्छ। अहिले अतिरिक्तमा रहनुभएकाहरूको पोस्टिङको गृहकार्य भइरहेको छ।’

यामप्रसाद भुसाल, विष्णुप्रसाद कोइराला, ज्ञानप्रसाद ढकाल, भुपेन्द्र थापालगायतका बरन्डामा पुर्‍याइएका सहसचिवहरू काम नपाई हाजिर गरेर मात्रै तलब थाप्दा ‘लाजै लाग्ने’ गरेको बताउँछन्।

सामान्य प्रशासन मन्त्रालयमा कार्यालयको दिन बिहान १० बजेतिर हाजिर गर्ने मात्रै कर्मचारीको भीडभाड हुन्छ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली निजामती सेवालाई सरकारले व्यवस्थित गर्न नसकेको बताउँछन्। कर्मचारीको सरुवामा सबैभन्दा बढी बेथिति रहेको उनी बताउँछन्। ‘वस्तुगत आधार खडा गरेर सरुवालाई व्यवस्थापन गर्नुपर्छ,’ मैनालीले भने। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।