NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

छोराछोरीको पढाइलेखाइको समस्या अब प्रकाशमानले समाधान गरिदिने !

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक र पूर्वाधार विकासको मात्रै नभई छोराछोरीको पढाइ र छात्रवृत्तिसहितका सुविधाको माग लिएर आउन अपिल गरेका छन् ।

आफूहरूलाई घरैपिच्छे के समस्या छन् भन्ने थाहा नहुने भन्दै उनले समस्या भएका बालबच्चाको पढाई र छात्रवृत्तिको कुरा लिएर निर्धक्क भन्न आउनसमेत उनले आग्रह गरे ।

‘खाली पोलिटिकल, पूर्वाधार विकास, ढलको समस्या मात्र होइन, तपाईंहरुको घरमा, छोरीको पढाइलेखाइमा, स्कलरसिपको बारेमा भन्नुपर्यो’ काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘भनेपछि न हामीलाई थाहा हुन्छ । घरैपिच्छे के प्रबलम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त । तर तपाईंहरुले जनप्रतिनिधिहरुलाई विश्वास गरेर भन्नुपर्यो ।’

काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै उनले कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरे ।

बालबच्चाको पढाइसहित घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन उनले दिएका हुन् ।

‘समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधि सभाका सबै तहका जनप्रतिनिधिहरु मिलेर समाधान गर्न तत्पर रहेको बताउँदै उनले भने, ‘तपाईंहरुको समस्या हामीलाई भन्नुपर्यो । हामीसँगै बसेर समस्यालाई समाधान गर्छौ ।’ उनले भने ।

सिंहले डिभोर्स हुनै लागेको एक दम्पत्तिको समस्या समाधान गरेको पनि दाबी गरेका छन् । सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ ।

उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौं भनेर सब प्रोग्राम बनाएँ । पैसा पनि छुट्याएँ, एक्स्पर्टहरु लगाएँ, डिजाइन पनि गरें । पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्यो भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन ।’ यसबाट आफूले मात्र राम्रो काम गर्छु भन्दैमा जनताले त्यसमा समर्थन नगरेमा नहुँदो रहेछ भन्ने अनुभव हासिल गरेकोसमेत बताए ।