NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

चुनावी तालमेलले गठबन्धन धर्मसंकटमा : प्रभावशाली नेताले नै टिकट नपाउने पक्का

काठमाडौं । सरकारले संघ र प्रदेशको मिति घोषणा गर्ने तयारी गरेसँगै सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँडबारे अनौपचारिक छलफल सुरू भएको छ ।

सत्ता नेतृत्व दल कांग्रेसको साउन ३ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने नीतिगत निर्णय गरेसँगै सिट बाँडफाँड सम्बन्धमा दलहरूबीच अनौपचारिक छलफल सुरू भएको हो ।

सिट बाँडफाँडमा दलहरूको आ-आफ्नै अडान

तर १६५ सिट पाँच दललाई मिलाएर भागबण्डा गर्नु निकै चुनौतीपूर्ण देखिएको छ । यसरी तालमेल गर्दा कांग्रेसमा कम्तिमा १०० सिट आफूलाई राख्नुपर्ने दबाबमा छ । बाँकी ६५ सिटमा माओवादी, नेकपा एस र जसपालाई मनाउनुपर्ने हुन्छ, जुन त्यति सजिलो छैन ।

स्थानीय तह निर्वाचनमा ३२९ सिट जितेर हौसिएको कांग्रेस गठबन्धनको सहयोगमा आगामी निर्वाचनमा बहुमत ल्याउने दाउमा देखिन्छ । अघिल्लो पटक २३ सिटमा खुम्चिएको कांग्रेसका लागि गठबन्धनलाई मिलाएर बहुमत ल्याउन त्यति सजिलो छैन ।

यसैगरी २०७४ को निर्वाचनमा माओवादीले ३६ सिट जितेको थियो । अघिल्लो पटक एमालेसँग गठबन्धन गरेर फाइदा लिएको उसले यसपटक कम्तिमा ५० सिट दाबी गरेको छ । बाँकी १५ सिटमा नेकपा एस र जसपाले मान्य अवस्था छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा सिट बाँडफाँडबारे शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएपनि सहमतिको कुनै ठोस आधार तय हुने देखिएको छैन । एमालेको विद्रोही शक्ति एकीकृत समाजवादीले अनौपचारिक छफलफलको क्रममा यसअघि एमालेले जितेको सबै सिट दाबी गरेको छ ।

यद्यपि दलहरूबीच छलफलको क्रममा कम्तिमा ४० सिटसंख्या तलमाथि हुन सक्ने उसको भनाइ छ । २०७४ मा १० सिट जितेको जसपाले कम्तिमा १५ सिट दाबी गरेको छ । यी सबै हिसाबले सम्मानजनक सिट बाँडफाँड गर्न गठबन्धन दलका लागि महाभारत हुने देखिन्छ । पहिला संघको सिट बाँडफाँडमा सहमति भएपछि मात्र त्यही अनुसार प्रदेशको सिट बाँडफाँड गर्ने शीर्ष नेताहरूको तयारी छ ।

प्रभावशाली नेताहरू नै टिकट नपाउने

सत्तारूढ दलहरूले अहिलेकै गठबन्धनलाई कायमै राख्ने सहमति गरेपछि भागबण्डा कसरी मिलाउने भन्नेमा अलमल देखिएको छ । गत निर्वाचनमा लोकतान्त्रिक र वामपन्थी शक्तिबीच भिडन्त भएको थियो । निर्वाचनसम्म नाटकीय ढंगले समिकरण नबदलिए आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक र एमालेबीच रोचक भिडन्त हुनेछ ।

सत्तागठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी, जसपा लगायतदलहरूबीचमा निर्वाचनअघि एउटै समाजवादी केन्द्र बनाएर जाने कसरत भइरहेको छ । समाजवादी केन्द्र बनाउनका लागि तत्कालीन नेकपाका नेताहरू प्रचण्ड, माधव, बाबुराम र वामदेव गौतमबीच औपचारिक तथा अनौपचारिक भेटवार्ता बाक्लिदै गएको छ । समाजवादी केन्द्र बनाएर जाने विषयमा शीर्ष नेताहरू सकारात्मक देखिएका छन् । भेटवार्तालाई निरन्तरता दिने उनीहरूबीच सहमति भएको छ ।

यसरी अहिलेकै गठबन्धन निर्वाचनसम्म कायम रहे सबैभन्दा ठूलो चुनौती प्रभावशाली नेताहरूको व्यवस्थापनमा देखिएको छ । जबकी अघिल्लो पटक एकअर्काका प्रतिस्पर्धी उम्मेदवार रहेका नेताहरू यसपटक एउटै गठबन्धनमा छन् ।

भागबण्डामा एउटाले जिम्मेवारी पाउँदा अर्कोले विद्रोह गर्ने सम्भावना त्यतिकै छ । टिकटका लागि दलभित्रै चुनौती देखिएको अवस्थामा पाँचदलीय नेताहरूको व्यवस्थापन गर्न कांग्रेसका लागि ठूलो चुनौती छ । गठबन्धनकै कारण यसपटक प्रभावशाली नेताहरूले टिकट नपाउने पक्का भएका छन् ।

डा. बाबुराम भट्टराई/नारायणकाजी श्रेष्ठ

अघिल्लोपटक नयाँ शक्तिबाट निर्वाचन लडेका डा. बाबुराम भट्टराई अहिले गठबन्धनमा रहेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई कांग्रेसको सहयोगमा गोराखा–२ बाट संघीय सभामा निर्वाचित रहेका थिए । त्यतिबेला उनको प्रतिस्पर्धी थिए, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ । श्रेष्ठलाई उनले ६ हजार ८७४ मतान्तरले पराजित गरेका थिए । भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । योपटक एउटै गठबन्धनमा रहेकाले दुईमध्ये एक निर्वाचन लड्नबाट बञ्चित हुनुपर्ने देखिन्छ ।

रामचन्द्र पौडेल/ कृष्णकुमार श्रेष्ठ

२६ वर्षदेखि अपराजित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २०७४ को निर्वाचनमा पहिलो पटक पराजित भएका भए । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनलाई वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठले ६ हजार ४ सय १४ मतले हराएका थिए ।

विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याए भने पौडेलले २७ हजार ६७५ मत मात्र पाएका थिए । यसपटक दुवै एउटै गठबन्धनमा रहेकाले यी दुई नेताको व्यवस्थापन कसरी गर्ने भन्ने कुनै आधार तय भएको छैन । श्रेष्ठ एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री हुन् । यी दुईमध्ये निर्वाचनबाट हात धुनुपर्नेछ ।

अग्निप्रसाद सापकोटा/मोहनबहादुर बस्नेत

संघीय संसदका सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटा ०६४ देखि माओवादीबाट अपराजित सांसद हुन् । सापकोटा ०७६ मा सभामुख भएपछि माओवादीबाट अलग रहेका थिए । गत निर्वाचनमा १० हजार ७ सय १० मतान्तरसहित सापकोटा निर्वाचित भएका हुन् ।

उनले ४० हजार ५ सय ४ मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्दी मोहनबहादु बस्नेतले २९ हजार ७ सय ९८ मत पाए । बस्नेतले योपटक सापकोटालाई निर्वाचन क्षेत्र नछोड्ने अडान लिएका छन् ।

सुरेन्द्र कार्की/विश्वप्रकाश शर्मा

०७४ मा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका सुरेन्द्र (राम) कार्की विजयी भएका थिए । उनका प्रतिस्पर्धी थिए, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । अघिल्लो पटक कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएर विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी शर्माले ३३ हजार ३ सय १० मत ल्याएका हुन् । कार्कीले शर्मालाई २९ सय १५ मतले पराजित गरेका हुन् । दुवै जना गठबन्धनका प्रभावशाली नेता भएकाले यिनको व्यवस्थापन गर्न निकै कठिन देखिन्छ ।

कृष्णप्रसाद सिटौला/राजेन्द्र लिङ्देन

कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला ०७४ मा प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं ३ बाट राप्रपाका अहिलेका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । यद्यपि लिङ्देन गठबन्धनमा रहेका छैनन् । अघिल्लो पटक एमालेसँग चुनावी तालमेल गरेको लिङ्देनले योपटक कोसँग तालमेल गर्छ भन्ने प्रष्ट छैन ।

स्थानीय तह निर्वाचनमा झापामा गठबन्धनसँग चुनावी तालमेल गरेका उनले संघीय निर्वाचनमा गठबन्धनलाई नै सहयोग गरे सिटौलालाई व्यवस्थापन गर्न कठिन देखिन्छ । अघिल्लो पटक सिटौलाले ३१ हजार १५९ मत पाएका थिए । वाम गठबन्धनको समेत समर्थन पाएका लिङ्देनले ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए । लिङदेनको मतान्तर १३ हजार ४४३ रहेको थियो ।

प्रेम आले/वीरबहादुर बलायर

डोटी–१ बाट पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले २०७४ को निर्वाचनमा कांग्रेस नेता वीरबहादुर बलायरलाई १ हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । उनले ३२ हजार ५१० मत ल्याए भने निकटतम प्रतिस्पर्धी मन्त्री बलायरले ३० हजार ८७८ मत पाएका थिए । एसका प्रभावशाली नेता रहेका आलेलाई व्यवस्थापन गर्न गठबन्धन गर्नुपर्ने चुनौती छ ।

विरोध खतिवडा/महालक्ष्मी डिना उपाध्याय

पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा एकीकृत समाजवादीका प्रभावशाली नेता हुन् । मकवानपुर–२ बाट गत निर्वाचनमा कांग्रेस नेता महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै खतिवडा विजयी भएका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याए ।

पराजित भएकी डिनाले ३२ हजार ६ सय ८१ मत ल्याइन् । उनी १८ वर्षपछि फेरि संसदमा फर्किएका थिए । तर योपटक गठबन्धनबाट निर्वाचन लड्ने तयारी गरेका उनी र उपाध्यायलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको छ ।

राजेन्द्र पाण्डे/शालिकग्राम जमकट्टेल

वाग्मती प्रदेशका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे गत निर्वाचनमा धादिङ १ (क)बाट जितेका थिए । राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका उनले तत्कालीन एमालेबाट संघीय सांसद बन्न खोजेका थिए । तर ओलीले आफू पक्षीय नेता भूमि त्रिपाठीलाई टिकट दिएपछि उनलाई मुख्यमन्त्री बनाउने आश्वासनसहित प्रदेशसभाबाट निर्वाचन लड्न राजी भएका थिए ।

संघीय निर्वाचनमा पाण्डे संघीय निर्वाचन लड्न चाहेका छन् । वाग्मतीका अर्थमन्त्रीसमेत रहेका माओवादीका प्रभावशाली नेता शालिकग्राम जमकट्टेल पनि संघीय निर्वाचन लड्न चाहेका छन् । यी दुवै नेता एउटै क्षेत्रका भएकाले दुईमध्ये एक रोज्नका लागि गठबन्धनलाई अप्ठ्रो पर्ने देखिन्छ । गत निर्वाचनमा जमकट्टेल धादिङ-१ (ख)बाट निर्वाचित भएका थिए ।

रामशरण महत/हितबहादुर तामाङ

पूर्वअर्थमन्त्री तथा कांग्रेसका नेता डा. रामशरण महत कांग्रेसका प्रभावशाली नेता हुन् । पटक-पटक अर्थमान्त्री भएका उनी गत निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ बाट माओवादी नेता हितबहादुर तामाङसँग पराजित भएका थिए ।

त्यतिबेला महतले करिब ९ हजार मतान्तरले चुनाव हारेका थिए । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी महतले २७ हजार ९ सय २० पाएका छन् । महतसँग तामाङ २०६४ र २०७० को निर्वाचनमा पराजित भएका थिए ।