NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महोत्तरीमा वर्षा र चर्को घामले सर्पको बिगबिगी

महोत्तरी । असार मध्यसम्मको सघन वर्षा र त्यसयताको चर्को घामले जिल्लाको उत्तरीक्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । असार मध्यअघिको बर्खाले पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो ।
बर्दिबास-३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदै छन् । सामान्यतया सघन वर्षासँगै दुलोमा पानी भरिँदा र चर्को गर्मीमा शीतल ताप्न सर्प दुलोबाट बाहिर आउँछन् । दुवै कारण ग्रिष्म र बर्खामा पानी पर्ने भएको हुँदा अहिले सर्पको बिगबिगी बढेको हो । यही साउन महिनाको पहिलो साता पूरा नबित्दै केन्द्रमा २३ जना सर्पदंशका बिरामी उपचार लिन आइसकेका छन् ।
हालसम्म उपचारका लागि आएका २३ सर्पदंशका बिरामीमध्ये एक घटनामात्र अति विषालु करेतले डसेको घटना पाइएको केन्द्रले जनाएको छ । अन्य २२ कडा विष नभएका सर्पबिच्छीको टोकाइ भेटिएको केन्द्रका उपचार प्राविधिक टोलीका प्रमुख इन्द्रबहादुर केसीले बताए ।
सामान्यतया कडा विष नहुने सर्प र बिच्छीले टोक्दा पनि त्यो नचिन्दा टोकाइमा पर्ने आत्तिएर बढी गम्भीर हुने गरेका उपचार प्राविधिक टोलीको अनुभव छ । पछिल्लो पटक असार मध्यउताको सघन वर्षा र त्यसयताको चर्को गर्मी छल्न सर्प दुलाबाट निस्कने क्रमसँगै घटना बाक्लिएका हुन् । सर्पदंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन् ।
घाँसपातको काम गर्दा र शौचालय नहुँदा अध्याँरोमा दिसापिसाव गर्न बाहिर निस्कँदा मधेसमा सर्पदंशका घटनामा महिला बढी पर्ने गरेका सर्पदंश उपचार केन्द्र सञ्चालक समिति बर्दिबास–३ गौरीडाँडाका अध्यक्ष कृष्ण देवकोटाको भनाइ छ ।
जिल्लाको बर्दिबास नगरपालिकाका वडा नं १, २, ३, ४ र १४ सर्पको समस्या बढी भएको पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने उनको भनाइ छ ।
सर्पले टोकेका बिरामी बर्दिबासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दर्ता भएभन्दा निकै बढी घटना हुने गरेका उनले बताए । पछिल्लोपटक यसै साउनको पहिलो साताकै प्रारम्भमा जिल्लाकै गौशालास्थित प्राथमिक स्वास्थ्योपचार केन्द्रले पनि सर्पदंशको उपचार सेवा दिन थालेपछि त्यसभेगका बिरामी आउन केही कमी भएको केन्द्रले जनाएको छ ।
वि.स २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन् ।
केन्द्रले सेवा सञ्चालन भएदेखि गत असार मसान्त आव २०७८/७९ को अन्त्य सम्म दुई हजार ८८१ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । आव २०७८/७९ मा ९७७, आव २०७७/७८ मा ३०७, आव २०७६/७७ मा २७४, आव २०७५/७६ मा ३१९, आव २०७४/७५ मा २९६, आव २०७३/७४ मा २७३, आव २०७२/७३ मा २७० र आव २०७१/७२ मा १६५ जना रहेका केन्द्रले जनाएको छ ।
केन्द्रमा उपचारका लागि नेपाली सेनाले उपलब्ध गराएका दक्ष प्राविधिक र औषधि (एन्टी स्नेक भाइल) हरदम तयार अवस्थामा रहे पनि भेन्टिलेटर नहुँदा कतिपय गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नुपरेको केन्द्रले जनाएको छ ।
केन्द्रले पछिल्लो एक महिनादेखि एम्बुलेन्स सेवा दिन थालेको छ । गम्भीर प्रकृतिका भेन्टिलेटरमा सघन उपचार गरिनुपर्नेलाई त्यस्तो सेवा दिने अस्पतालसम्म पुर्याउन र घटना भएको थाहा पाइनासाथ बिरामीलाई यथाशक्य चाँडै केन्द्रमा ल्याई पुर्याउन एम्बुलेन्स सेवा दिन थालिएको अध्यक्ष देवकोटाले जानकारी दिए ।
केन्द्रमै वा बर्दिबास अस्पतालमा भेन्टिलेटर प्रबन्धका लागि बर्दिबास नगरपालिका र स्वास्थ्य मन्त्रालयमा पटकपटक आग्रह गरिँदै आइए पनि हालसम्म यो सेवा दिन नसकिएको केन्द्रका अध्यक्ष देवकोटा बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष