NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

डढेलो फैलिएपछि अमेरिकामा आपतकाल घोषणा

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपतकाल घोषणा गरिएको छ ।

ओक फायर नाम दिइएको डढेलो शुक्रबारबाट विस्फोटक शैलीमा फैलिन थालेपछि त्यहाँ आपतकाल घोषणा गरिएको हो ।

अग्नि नियन्त्रकहरुले २४ घण्टाभन्दा बढी समय बित्दा पनि आगो नियन्त्रणमा लिन सकेका छैनन् । ‘विस्फोटक आगोले अग्नि नियन्त्रकहरूलाई चुनौती दिइरहेको छ’ क्यालिफोर्नियाको दमकल विभागले भनेको छ ।

डढेलो फैलिएपछि त्यसक्षेत्रका ३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने १० वटाभन्दा बढी घरहरू नष्ट भइसकेका छन् । डढेलो ११ हजार ९ सय एकडमा फैलिइसकेको छ र यो अहिले अमेरिकामा सबैभन्दा ठूलो सक्रिय डढेलो भएको बताइएको छ ।

क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको छ । एक विज्ञप्तिमा क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आगो तातो, सुख्खा मौसम र खडेरीको अवस्थाका कारण डढेलो लागेको बताएका छन् ।

अमेरिकाको धेरैजसो राज्यमा अहिले अत्यधिक गर्मी छ । मारिपोसा काउन्टीको तापक्रम शनिबार ३५ डिग्री सेल्सियस पुग्यो र आगामी केही दिनसम्म त्यो स्तरमा रहने अपेक्षा गरिएको छ ।