NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

संघर्षका दिन सम्झिदैं मिथुनले भने, ‘आत्महत्या गर्न मन लाग्थ्यो’

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्तीले हालै एक अन्तर्वार्तामा आफ्ना संघर्षका दिनबारे बताएका छन् । पुराना दिन स्मरण गर्दै उनले त्यसबखत आफूलाई आत्महत्याको सोच आउने गरेको र सपना पूरा गर्न पाउँदिन भन्ने डर रहेको बताएका छन् ।

सपना पूरा गर्न नसकेको अवस्थामा आफ्नो जन्मस्थान कोलकत्ता पनि जाने उपाय नरहेको उनले बताए ।

टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘सामान्यतया म यी विषयमा कुरा गर्न रुचाउदिन । म संघर्षका दिनका कुरा गर्न चाहन्न किनभने यसले आर्टिस्टहरूलाई हतोत्साही बनाउन सक्छ । जो कोही पनि संघर्षबाट गुज्रिन्छ तर मेरो संघर्ष बढी थियो ।’

मिथुनले त्यसअघि भने, ‘कयौं पटक मलाई लाग्थ्यो कि म आफ्ना सपना पूरा गर्न सक्दिन । आत्महत्या गर्नेबारे सोच आउथ्यो । केही कारणवश म कोलकत्ता पनि फर्किन सकिरहेको थिइन । तर, म भन्छु कि, जिन्दगीमा लड्न छोडेर जीवनलाई खतम गर्नु हुन्न । म जन्मसिद्ध योद्धा हुँ । किनभने म हार्न जान्दिन । जसकारण आज हेर्नुस् म कहाँ छु ।’

मिथुन अन्तिम पटक फिल्म ‘कश्मिर फाइल्स’ मा देखिएका थिए । विवेक अग्निहोत्रीको निर्देशनमा बनेको यस फिल्मले प्रदर्शनमा आएको दुई हप्तामै दुई सय करोड रूपैयाँको कारोबार गरेको थियो ।

हाल उनी सञ्जय दत्त र ज्याकी श्राफसँग नयाँ फिल्ममा काम गर्दै छन् ।