NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मुस्ताङको याकखर्कमा चौरीको आलो रगत पिउनेको भीड

हिमाली जिल्ला मुस्ताङको ठिनीस्थित याकखर्कमा जारी चौरी र याकको आलो रगत पिउने मेलामा सर्वसाधारणको भीड लागेको छ । साउन ४ देखि सुरु भएको उक्त मेलामा दैनिक १०० बढी मानिस चौरी र याकको आलो रगत पिउन आउने गरेको स्थानीय चौरी पालक किसानको भनाइ छ ।

मुस्ताङ, म्याग्दी, पर्वत र पोखराबाट समेत मानिस चौरीखर्कमा पुगेर रगत पिइरहेका स्थानीय इन्द्रसिंह शेरचनले जानकारी दिए । स्थानीयवासी शेरचनका अनुसार हिमाली लेकमा पाइने शक्तिवद्र्धक जडीबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटुकी, वन लसुन, पाँचऔँले, जिम्बुलगायत जडीबुटी खाने भएकाले याक र चौरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ मानिस चौरी रगत पिउन आउने गर्दछन् ।

यसरी चौरी र याकको आलो रगत खानाले यौनशक्ति वृद्धिहुने, ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसरलगायत रोग निको हुने स्थानीयवासीको भनाइ छ । तर, यस विषयमा चिकित्सक भने मौन छन् । उनीहरूका अनुसार स्वास्थ्य परीक्षण नगरिकन कुनै पनि जीवको रगत र मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

मुस्ताङको सदरमुकाम जोमसोमदेखि ठिनीहुँदै करिब एक घण्टाको पैदलयात्रा पछि याक खर्कमा पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताले युक्त नमखुलेकको याकखर्क अहिले रोमाञ्चक र पीडादायी दुवै किसिमका दृश्य एकै साथ देखिएका याकखर्कमा पुगेका राजन सापकोटाले बताए ।

सिमसिम पानी परेको बेलामा नमखुलेक र याकखर्कको सुन्दरताले लोभ्याउने भए पनि याकचौरीको घाँटी चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर पिएको दृश्य भने निकै पीडादायी लाग्ने उनको भनाइ छ । चौरी मेलामा किसानले पालेका २५० भन्दा बढी चौरी र याकलाई ल्याइएको छ । ती याक र चौरीलाई तालिमप्राप्त सिपालु मान्छे (स्थानीय भाषामा आम्जी) ले घाँटीमा नशा पत्ता लगाई चापो (एक किसिमको चक्कु)ले नशा काटेर रगत निकाल्ने गर्दछन् । रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौरी छाडिन्छ ।

यहाँका खर्कमा प्रत्येक वर्ष साउन र वैशाख गरी दुई पटक आलो रगत निकालेर बिक्री गर्नका लागि नै चौरीको रगत पिउनले मेला आयोजना हुँदै आएको छ । घरपझोङ गाउँपालिकाको नमखलेक र थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि अहिले चौरीको रगत निकाल्ने मेला सञ्चालन भएको छ ।

नमखुलेखको याकखर्क निलगिरी हिमालको फेदमा रहेको छ । यो क्षेत्र प्राकृतिक सुन्दरताले समेत चित्ताकर्षक छ । हिमालको काखमा पुगेर विशुद्ध प्राङ्गारिक जडीबुटी खाएका याक र चौरीको रगत पिउँदै हिमाली सौन्दर्यमा रमाउन पाउँदा निकै आनन्द हुने याकखर्कमा पुगेर चौरीको रगत पिएर फर्किएका म्याग्दीका युवा सन्तोष सुवेदीले बताए ।