NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

२०७४ को चुनाव : यी हुन् ५० हजार बढी लोकप्रिय मत ल्याएर जित्नेहरू

काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहँदा राजनीतिक दलहरू आन्तरिक चुनावी जोडघटाउमा व्यस्त छन् । राष्ट्रिय राजनीतिमा कुनै भवितव्य नभए मंसिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन हुनेछ ।

अघिल्लो निर्वाचनमा वामगठबन्धन र कांग्रेसबीच रोचक चुनावी भिडन्त भएको थियो । वामगठबन्धनले १६५ निर्वाचन क्षेत्रमध्ये ११७ सिटमा बाजी मार्दा कांग्रेस जम्मा २३ सिटमा खुम्चिएको थियो । जसमध्ये एमाले एक्लैले ८० सिट जितेर पहिलो दल बन्यो । ०७० को संविधानसभामा तेस्रो शक्ति रहेको माओवादीलेसमेत एमालेको सहयोगमा प्रत्यक्षमा ३६ सिट जितेर कांग्रेसलाई तेस्रोमा धकेल्न सफलता हात पार्यो ।

यसपटक चुनावी समीकरण बदलिएको छ । ०७४ को चुनावी समीकरणपछि बनेको नेकपा विभाजन भएको छ । एमालेसमेत फुटेर नयाँ एकीकृत समाजवादी दल बन्यो । कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राजमोसहितको सत्ता गठबन्धनको चुनावी मोर्चा बनाउने सहमति भएको छ ।

अघिल्लो निर्वाचनमा नयाँ–नयाँ रेकर्ड कायम गरेको एमालेलाई आगामी निर्वाचनसम्म यही गठबन्धन कायमै रहे निर्वाचन महँगो पर्न सक्छ । किनकी दुई ठूला कम्युनिष्ट दल एक ठाउँमा उभिएपछि हजारौंको अन्तरले वाम गठबन्धनका उम्मेदवार धेरै ठाउँमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा एमालेका अध्यक्ष केपी ओलीसहित ४ जना उम्मेदवार वाम गठबन्धनबाट ५० हजारभन्दा बढी मत ल्याइ चर्चामा आएका थिए ।

त्यस्तै माओवादीका दुई जना उम्मेदवारले ५० हजारबढी मत ल्याइ चर्चामा आएका थिए । यी सबै उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रहेका थिए ।

यस्ता छन् ५० हाजारबढी मत ल्याउने उम्मेदवारका रोचक प्रतिस्पर्धा

केपी ओली

२०७२ मा भारतीय नाकाबन्दीबाट आफ्नो राजनीति उचाइ लिएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको व्यक्तित्व अघिल्लो निर्वाचनमा ह्वात्तै बढेको थियो । निर्वाचनको मुखैमा आफ्नै चीर शत्रु मानिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हातेमालो गरी चुनावी गठबन्धन बनाएर सबैलाई आश्चर्यचकित बनाएका थिए । एमाले–माओवादीबीच चुनावी तालमेल गरी निर्वाचनमा होमिएका ओलीले सबैभन्दा बढी मत ल्याउनेमा रेकर्ड राखेका थिए ।

गृहजिल्ला झापा–५ बाट निर्वाचनमा होमिएका ओलीले सर्वाधिक ५७ हजार १३९ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाए । ओलीको मतान्तर २८ हजार ८४२ रहेको थियो । माओवादीसँग मात्र विश्वस्त नभएका ओलीले झापामा राप्रपासँग समेत चुनावी तालमेल गरेर अत्याधिक मत बटुलेका थिए । तर यसपटक माओवादी अलग हुँदा एमाले फुट्न पुगेको छ । यसैले यस अघि ५० हजार अन्तरले जित्ने ओलीलाई पनि अबको प्रतिनिधिसभा चुनाव सहज नहुने देखिन्छ ।

गोकुल बाँस्कोटा

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सर्वाधिक दोस्रो मत ल्याउनेमा एमालेकै नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा रहेका छन् । खरो स्वभावका बाँस्कोटा ओलीकै जोडबलमा शक्तिशाली सञ्चारमन्त्री भएका थिए । ओली नेतृत्वको सरकारमा प्रिन्टिङ प्रेस खरिदसम्बन्धमा मोलमोलाई गरेको विवादास्पद अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । गत निर्वाचनमा काभ्रे क्षेत्र नं. २ बाट ५५ हजार ५२६ मत ल्याएर चर्चामा आएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ७५३ मत ल्याएका थिए । बाँस्कोटाको मतान्तर १८ हजार ७७३ रहेको छ । आगामी निर्वाचनमा पनि ५० हजार बढी भोट ल्याएर जित्ने दाबी गरेका छन् । तर नेकपा विघटन र एमालेको विभाजन भएपछि ओलीलाई जस्तै बाँस्कोटालाई पनि पहिलेको जस्तो मत ल्याएर जित्न निक्कै कठिन पर्ने बताइन्छ । करोडौं कमिसन खान खोजेको, पार्टी विभाजनको अवस्थाले बाँस्कोटालाई अब पनि सहज नहुने देखिन्छ ।

पार्वत गुरुङ

ओलीपछि सर्वाधिक तेस्रो मत ल्याउनेमा एमाले नेता तथा पूर्वमन्त्री पार्वत गुरुङ रहेका छन् । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङले वामगठबन्धनबाट ५५ हजार ४५७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्काले २४ हजार ८१३ मत पाएका थिए । गुरुङको मतान्तर ३० हजार ६४४ रहेको छ । १६५ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतान्तरले जित्ने नै गुरुङ हुन् ।

सुरेन्द्र पाण्डे

२०७५ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्वाधिक मत ल्याउनेको चौंथो स्थानमा पनि एमालेकै उम्मेदवार रहेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवन –१ बाट ५१ हजार ८० मत ल्याइ प्रतिनिधिसभामा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याइ पराजित भएका थिए । पाण्डेको मतान्तर १५ हजार ७२० रहेको छ ।

सर्वाधिक लोकप्रिय मत ल्याउनेमा माओवादीका दुई जना

सन्तकुमार थारु

एमालेपछि सर्वाधिक लोकप्रिय मत ल्याउनेमा मओवादी नेता सन्तकुमार थारु रहेका छन् । एमालेका चार जनाले सर्वाधिक मत पाउँदा माओवादीका दुई जनाले ५० हजार बढी लोकप्रिय मत पाएका थिए ।

कांग्रेसका उम्मेदवार गोपाल दहितलाई पराजित गर्दै थारुले बर्दिया–२ बाट ५० हजार ५५५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी दहितले ३६ हजार ७३५ मत पाएका थिए । उनको मतान्तर १३ हजार ८२० रहेको छ ।

बर्दिया १ मा ५० हजार हाराहारी मत ल्याएर थारु विजयी हुँदा बर्दिया २ बाट भने प्रभावशाली नेता वामदेव गौतमले पराजय बेहोरे । वाम गठबन्धनको बलमा सामान्य प्रोफाइलवाला नेताले जित्दा वामदेवले भने असामान्य हार बेहारे ।

कांग्रेसका संजयकुमार गौतम ४४८२९ मत ल्याएर विजयी हुँदा एमालेका गौतम ४४०७३ मत ल्याएर ७५६ मत मतले पराजित हुन पुगे । देशभर गठबन्धन उम्मदेवारको पक्षमा लहर देखिंदा वामदेवको पराजयलाई अस्भाविकरुपमा लिइएको थियो ।

टोपबहादुर रायमाझी

हाल एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट ५० हजार ८३७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. रामबहादुर बि.सी.ले ३२ हजार ५४४ मत पाएका थिए । रायमाझीको मतान्तर १८ हजार २९३ रहेको छ । २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि एमालेमै रहेका रायमाझीलाई माओवादीले निष्कासन गरेको थियो । माओवादीले सांसदबाट कारबाही गरेपछि सर्वोच्च अदालत पुगे पनि उनको सांसद पद थमौती हुन सकेन । अघिल्लो निर्वाचनमा माओवादीका थारु र रायमाझीबाहेक कसैले पनि ५० हजार मत कटाउन सकेनन् ।