NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २३ वर्षीय युवाले ठगे १३ करोड

काठमाडौं । उमेर मात्रै २३ वर्ष । तर, ठगीमा ‘मास्टरमाइन्ड’ । ठगीको यस्तो जालो, जहाँ सर्वसाधारण मात्रै होइन, सुरक्षा निकायमा वर्षौँ बिताएकासमेत सजिलै फसे । विश्वास आर्जन र पैसा असुल्न पत्रिकादेखि सोसल मिडियासम्म विज्ञापन र नक्कली विज्ञ खडा गरी ‘ओरियन्टेसन’सम्मका सबै हर्कत । यसैका बलमा वैदेशिक रोजगारीका नाममा डेढ सय युवाबाट करिब १३ करोड असुल ।

यी हुन् ठगीका ‘मास्टरमाइन्ड’ पाल्पा रम्भा गाउँपालिका– ३ का सुरज थापा । जसले समीर जोशीसँगको सहकार्यमा चक्रपथमा ‘डी रोयल सेक्युरिटी रेक्वायरमेन्ट प्रालि’ नामको नक्कली मेनपावर कम्पनीमार्फत असुलीको धन्दा चलाउँथे । आफ्नो ठगी मिसन सकेर रातारात ‘बेपत्ता’ भए । बल्ल धेरैजसो पीडितले ठगिएको थाहा पाए । चलचित्रका लागि बनाएको ‘स्क्रिप्ट’मा जस्तै उनी एकपछि अर्को गरी आफ्नो योजना अगाडि बढाउँथे । नक्कली कम्पनी बनाएपछि उनले त्यसको नाममा फेसबुक पेज खोलेका थिए । पीडितहरूका अनुसार दुबईमा आकर्षक रोजगारी खुलेको भन्दै फेसबुकमा प्रचार गरे र सोही व्यहोराको विज्ञापन पत्रिकामा पनि छापे । सोही आधारमा युवासँग करोड रुपैयाँ उठाए र एकाएक बेपत्ता भए ।

पीडितमध्येका सल्यान सिद्धकुमार गाउँपालिका– ४ का २५ वर्षीय ज्ञानकुमार चलाउनेका अनुसार उनले करिब एक सय ५० युवासँग पाँचदेखि १२ लाखको दरले १३ करोड रुपैयाँभन्दा धेरै रकम उठाएका छन् । उनीबाट ठगिने नेपाल मात्र होइन र दुबईका होटेलमा समेत प्रशस्त भेटिने चलाउनेले बताए । ‘दुबईमा सेक्युरिटीगार्डमा आकर्षक तलबसहितको रोजगारी खुलेको भन्दै मलाई पटक–पटक भन्यो । विज्ञापन पनि गरेको रहेछ । मसँग यसले पटक–पटक गरी १२ लाख रुपैयाँभन्दा धेरै लियो । दुबई त पुर्‍यायो । तर, काम लगाएन,’ नयाँ पत्रिकासँगको सम्पर्कमा आएका चलाउनेले भने, ‘मजस्तै अलपत्र पर्ने डेढ सयभन्दा धेरै छन् । सबैबाट यसले १३ करोड रुपैयाँभन्दा धेरै रकम उठाएको रहेछ ।’

नेपाली सेनाबाट राजीनामा दिएका चलाउने वर्ष दिनअघि ‘भिजिट भिसा’मा दुबई पुगेका थिए । त्यसअघि उनले सुरजलाई नौ लाख रुपैयाँ बुझाएका थिए । रोजगारका लागि दुबईमा अन्तर्वार्तासमेत दिएका उनले काम भने पाएनन् । काम पाउने आशामा नौ महिना १० दिन दुबई बसेर अन्ततः खाली हात नेपाल फर्कनुपरेको उनले गुनासो सुनाए । सामाखुसीमा भेटिएका चलाउनेले बताएअनुसार सुरुमा थापाले वर्किङ भिसामा लैजाने भनेका थिए र सोही आशामा रकम लिएका थिए । ‘तर, एयरपोर्टमा पुगेपछि भने ‘भिजिट भिसा’ हातमा थमायो । विदेश हिँडेका हामी घर फर्कन सकेनौँ । काम पाउने आशामा दुबई पुग्यौँ । त्यहाँ पुगेर पनि तीन लाख रुपैयाँभन्दा धेरै रकम बुझायौँ । तर, काम पाउन सकेनौँ ।’

गोरखा पालुङटार नगरपालिका– १ का ३९ वर्षीय विकुल कोइरालाका अनुसार सुरजले युवालाई सुरुमा वर्किङ भिसामै दुबई लैजाने प्रलोभन दिन्थे र राहदानी, नागरिकतालगायतका आवश्यक कागजात पेस गर्न लगाउँथे । केही सातापछि दुबईस्थित कम्पनीबाट आएको भन्दै नक्कली ‘वर्किङ भिसा’ सामाजिक सञ्जालमार्फत पठाउँथे । ‘प्रतिव्यक्ति नौ लाखका दरले रकम बुझाउन भन्थे । जब युवा दुबई उड्न विमानस्थल पुग्थे । त्यसपछि भने दुबईको ‘भिजिट भिसा’ युवाको हातमा थमाउँथे,’ पीडित कोइरालाले भने ।

सामाजिक सञ्जालमार्फत दुबईस्थित ‘समन अलरायन टेक्निकल सर्भिस’ नामक कम्पनीबाट आएको नक्कली ‘वर्किङ भिसा’ देखाउँदै कोइरालाले भने, ‘होस्टेलमा वार्डेन बस्नुपर्ने र महिनाको ३५ सय दिराम तलब हुने भनेपछि म उसको सम्पर्कमा पुगेँ । उसले ‘वर्किङ भिसा’मै लैजाने भन्यो । हामी सातजना थियौँ । सबैले कागजात पेस गर्‍यौँ । केही सातापछि नभन्दै ‘वर्किङ भिसा’ आएको सन्देश फोनबाट आयो । त्यसपछि ढुक्क भएर रकम बुझायौँ । एयरपोर्ट पुगेपछि त उसले ‘भिजिट भिसा’ पो दियो । हामी जबर्जस्ती दुबई पुग्यौँ । ‘वर्किङ भिसा’ नक्कली रहेछ ।’

सैनिक सेवाबाट अवकाशप्राप्त कोइरालाका अनुसार युवालाई प्रभावित पार्न उनले नक्कली विज्ञ खडा गरी ‘ओरेन्टेसन’समेत गराउँथे । यसका लागि उनले छुट्टै घर भाडामा लिएका थिए । आधा रकम प्राप्त असुलेपछि उनले युवालाई ‘ओरेन्टेसन’ गराउँथे । त्यसपछि बाँकी रकम लिन्थे । दुबईबाट रित्तो हात फर्केका उनले भने, ‘यसको मेनपावर मात्रै नक्कली होइन, यसले गराउने ‘ओरेन्टेसन’समेत नक्कली रहेको नेपाल फर्केपछि मात्रै खुल्यो । ‘ओरेन्टेसन’मा सहभागी हुनेसमेत नक्कली रहेको सूचना छ । हामीसँग आवश्यक सबै प्रमाण छन् । वैदेशिक रोजगार विभागमा जाहेरी त दिएका छौँ । डुबेको रकम उठ्ने हो या होइन ठेगान छैन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।